शुक्रबार, कार्तिक ७ गते २०८३

संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ : एन्टोनियो गुटेरेस, राष्ट्रसंघ महासचिव


कार्तिक १३, २०८० सोमबार
संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ : एन्टोनियो गुटेरेस, राष्ट्रसंघ महासचिव
राष्ट्रसंघका महासचिव एन्टोनियो मेनुएल द ओलिभिएरा गुटेरस (१९४९- ) पोर्चुगलको ३० वर्षको रेकर्डमा अत्यन्त सफल र लोकप्रिय पूर्वप्रधानमन्त्री (१९९५–२००२), राजनीतिज्ञ तथा कुटनीतिज्ञ हुन् । आफ्नो देशमा उनी पोर्चुगिज सोसलिस्ट पार्टीका नेता हुन् । पोर्चुगललाई युरोपेली संघको सदस्य बनाउने कार्यमा उनको निर्णायक भूमिका छ ।
 
१९४६ देखि आजसम्मका नौजना राष्ट्रसंघ महासचिवमध्ये नेपाल भ्रमण गर्ने छैटौं महासचिवको रुपमा उनी कात्तिक ११ (२०८०) देखि ४ दिने नेपाल भ्रमणमा छन् । कात्तिक १४ गते संसदको दुवै सभाको संयुक्त बैठकलाई उनले संवोधन गर्दैछन् । तर उनको नेपाल भ्रमण, यो दोस्रो हो ।
 
शान्ति प्रक्रियाको सबभन्दा महत्वपूर्ण कार्य, सत्यनिरुपण तथा मेलमिलाप आयोग ( Truth & Reconciliation Commission) को गठन, पीडितलाई न्याय तथा परिपूरण र पीडितलाई सजाय, जलवायु परिवर्तनबाट उत्पन्न समस्याको निराकरण र बुद्ध जन्मभूमी लुम्बिनीको अन्तराष्ट्रिय दायित्व तथा जिम्मेवारी (३ मूख्य कार्यसूची) बोकेर उनी दोश्रो पटक नेपाल आए । पहिलो पटक उनको नेपाल आगमन सन् २००७ मा भएको थियो ।
उनीसँगको शिष्टाचार भेटमा, शान्ति प्रक्रियाको व्यवधानबारे सबभन्दा स्पष्ट कुरा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राखेको देखियो : "शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीकै कारण असहज भयो..."
 
संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनुहुँदैन, ...तर प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने उहाँको क्रियाकलापले असहज जस्तो भएको छ । खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने जस्ता कामले पीडितहरु चिन्तामा छन्...।"
 
क्याथोलिक क्रिस्टियन धर्मावलम्बी महासचिव गुटेरेस एकदशक (२००५–२०१५) सम्म शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त र सोशलिस्ट इन्टरनेशनलका अध्यक्ष (१९९९–२००५) पनि भइसकेका व्यक्ति हुन् । अघिल्ली पत्नी लुइसाको ५१ वर्षमा क्यान्सरबाट निधन (१९९८) भएपछि यिनले हालकी क्याटरिना (१९६०) सँग २००१ मा बिहे गरे ।
 
करिब एक करोड ३० लाख जनसंख्या भएको युरोपको सुदूरपश्चिमवर्ति मुलुक पोर्चुगाल विश्वमा उपनिवेश बनाउँदै हिंड्नमा पहिलो मुलुक हो । प्रतिव्यक्ति आय झन्डै २४ हजार डलर भएको, मानव विकास सूचकांकमा ४० औं उत्तम स्थानमा रहेको यो मुलुक विदेशी ऋण धेरै लिनेमा पर्दछ ।
तर आन्तरिक अर्थतन्त्र राम्रै मानिन्छ । यन्त्र तथा उपकरण, विद्युत सामग्री, जहाज निर्माण, प्लास्टिक, सेरामिक, खाद्य, फर्निचर, सिमेन्ट, पेट्रोरसायन, माछामार्ने, पर्यटन आदि उद्यम अर्थतन्त्रका आधारस्तम्भ हुन् । 
 
महासचिव गुटेरस आफ्नो राष्ट्रिय भाषा पोर्चुगिजका अतिरिक्त स्पेनिश, अँग्रेजी र फ्रेन्च भाषा पनि बोल्छन् । २०१६ मध्य डिसेम्बरतिर महासचिवको सपथग्रहणका अवसरमा उनले राष्ट्र संघका महत्वपूर्ण प्राथमिकता शान्ति, दिगो विकास र व्यवस्थापनमा प्रकाश पारेका थिए ।