शनिबार, कार्तिक ८ गते २०८३

कहिलेसम्म भौंतारिने युवा ? देशमा बस्ने वातावरण बना सरकार !


आश्विन २९, २०८० सोमबार
कहिलेसम्म भौंतारिने युवा ? देशमा बस्ने वातावरण बना सरकार !

रहरसँगै जिम्मेवारीका हरेक चुनौतीहरु बढ्दै गए । कतै म हराए झैँ लाग्दै गयो त कतै म आफूले आफैंलाई कुन बाटोमा आफूलाई लाने भन्ने कुरालाई लिएर रोजगारीको सिलसिलामा भौंतारिन बाध्य भएँ । कहाँ छ मेरो देशको सरकार, कहाँ छ एक असल, शिक्षित युवाको अवसर । हेर न म कति दिन, कति वर्ष भौतारिने गरेको छु । ती सर्टिफिकेट लिएर हातमा सानो झोला बोकेर कति अफिस गएँ, कतिलाई भने तर पनि खै कसले सुनिदियो फलानो भौंतारिने गरेको छ भनेर ।

घरमा सामान्य परिवार भएकै कारण सानै उमेरमा हरेक चुनौतीलाई सामाना गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेको एक सक्षम युवा त भएँ । तर यही सक्षम युवा रोजगारीको शिलसिलामा भौंतारिँदै हिंडेको छ । कति पावर र पैसाको आडमा लागेर जुनसुकै रोजागारमा आफ्नै ठूला मान्छेहरुको आफ्नो नातागोता राख्ने प्रवृत्तिले एक सक्षम युवाले सबै सपना सपनामै सीमित हुन दिने अवस्थामा पुगेको छ ।

हो म त्यही युवा हो जुन रोजगारीको खोज्न रोइ कराइ गर्दै हिडें तर पनि पाइन । तल स्थानीय सरकार, प्रदेश सरकार गर्दै नेपाल सरकारसम्म आफ्नो सेटिङमा चल्ने देशमा म एउटा एक युवा एक्लै भौतारिनु त सामान्य जस्तै हुने गरेको छ ।  हो आजको यो २१ औँ सताब्दीमा आएर पनि किन म र मेरा देशका युवा यसरी भौंतारिन बाध्य छन् ?  किन एउटा जागिर नपाएर डिप्रेसनको सिकार, साथीहरुबाट अपहेलना, आफन्तबाट टाढिनु परेको छ । पढेर राम्रो काम गर्छु आफ्नै देशमा केही राम्रो काम गर्छु भन्ने सपना बोकेर हिडेको युवा किन एक्लै भौतारिनु पर्छ ।

मैले कति रोएको, कति डिप्रेसनको सिकार भएको सुनेको छु । आफ्नै मान्छे त्यो कम्पनीमा राख्यो मलाई राखेन भनेर रोएको देखेको छु । आखिर कतिले त यही कारण बाँच्नु व्यर्थ भन्दै आत्महत्याको निर्णयमा समेत पुगे ।

नौ महिना आमाको कोखमा बसेर धर्तीमा पाइला टेकें । हुर्काउन पालन पोषण गर्न परिवारले लगानी गरे । रोगबाट बचाउन सरकारले तालिका अनुसार खोपको व्यवस्थापन गर्याे । सामुदायिक स्कुलमा १० कक्षासम्म निशुल्क गर्याे । त्यसभन्दा माथि पनि जनशक्ति उत्पादन गर्न कोटा तोकेर छात्रवृत्तिको समेत व्यवस्था गर्याे ।कलेज र विश्वविद्यालयको डिग्री समेत हात लाग्यो तर त्यहीँ सरकारले डिग्री चिनेन । त्यही भएर यत्रो लगानी गरेर योग्य युवा श्रम बेच्न अर्काको देश बनाउन विदेशिनु बाध्यता छ । परिवारसँग टाढिनु परेको छ ।

तर खै सरकार कहाँ छ । किन चुपचाप छ । किन गुपचुप छ । कहिले पाउने मेरो देशले आफ्नो देशमा बसेर आफ्नो परिवारसँग बसेर काम गर्ने सपना साकार बनाउने दिन । केहिले निर्माण गर्छ मैंले सोचेजस्तो देश कहिले हुन्छ ।

सरकार अहिले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जति लाइनमा बसेका नेपाली नागरिक देख्छौ नि हो त्यस्तो करिब ९५ प्रतिशत नेपाली युवा, विद्यार्थी नेपालमा रोजगार नै नपाएरै विदेश पलायन भएका हुन् । उनीहरुको रहर होइन बाध्यता हो सरकार। सामान्य परिवारमा पनि पछिल्लो समयमा विदेश पलायन हुने संख्यामा वृद्धि आएको छ । सामान्य परिवारमा साहुमहाजनबाट ऋण लिएर भएपनि विदेश पलायन हुनुपर्ने बाध्यता छ ।

म सँग सबै छ । सक्षम एक युवा हुँ । म पनि त नेपालमै बसेर आफ्नो सपना पुरा गर्न सक्छु । म पनि त अरु ले जस्तै पढेर भौंतारिन थाकेको हुँ । भौतारिने क्रममा कति रात अधुरो निद्रा सँगै सपनालाई काखी च्यापेर एउटा कुनामा एक्लै आँशु झारेर बसेको छु । म पनि जाने थिए नि विदेश । तर सामान्य परिवार छ । सामान्य परिवारमा हुर्केको एक सक्षम व्यक्ति हुँ । तर मैले ऋण काडेर विदेश पलायन हुनुपर्ने बाध्यता छ । यदि मैले साहु महाजनबाट ऋण लिएर विदेश पलाएन भए भने मेरो घरमा ऋणले भार पार्छ । यदि म विदेश गएर टनक्कै पैसा कमाउन सके त तिरौला यदि म विदेशी भूमिमा नै बिलिन भएँ भने खै के होला मेरो परिवारमा कस्तो वियोग सामानमा गर्नु पर्ला । यस्तो बाध्यता म मात्र नभई अरुको पनि त होला ।

आफ्नै परिवार सँगै देशमा नै रहेर सपनामा साकार पर्छु भनेर सपना बुन्ने धेरै होलान् । तर यस्ता अनेकौं खाले समस्याले गर्दा नेपाली विदेशी भूमिमा जानु परेको छ । रोजगारी नपाएकै कारण पनि आत्महत्या गर्नेको संख्यामा पनि बढेको छ , डिप्रेसनको सिकार समेत हुने गरेको छ । नयाँ नेपाल निर्माण यहि हो त ?  सक्षम युवाहरुलाई आफ्नै देशमा बस्ने वातावरण बनाऊ सरकार ! आफ्नै देशमा दक्ष जनशक्ति उत्पादन गर ! अनि मात्र हुन्छ नयाँ नेपाल निर्माणको सुरुवात !

  • सम्बन्धित विषय:

  • # राजकुमार भुजेल