बुधबार, भाद्र ३ गते २०८३

सहकारीमा युवाहरुको अपरिहार्यता

भाद्र २०, २०७८ आइतबार
सहकारीमा युवाहरुको अपरिहार्यता



पृष्ठभूमि

सहकारी अभियान सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण हिस्सा हो। सहकारीलाई सहकारीकै रुपमा अभ्यास गरे यसै मार्फत पूँजी निमाण र रोजगार सम्भव छ र सम्वृद्धि तर्फ अघि दोहऱ्याउन सम्भव छ भन्ने मान्यता राख्दछु । सहकारीलाई सहकार्य कै रुपमा बुझी ‘एक का लागि सबै, सबैका लागि एक’ भन्ने सहकारी मान्यतामा विश्वास राख्दछु। सहकारी एउटा यस्तो क्षेत्र हो जुन वित्तीय सन्तुलन सहितको, वौद्धिक र सुसंस्कृत बन्ने थलो हो माध्यम हो भन्ने बुझाई राख्दछु । संसार भरी व्याप्त सहकारी क्षेत्र, हामो देशमा ६ दशक को यात्रा पार पश्चात् पनि कताकता बदनाम रहेको, सही बुझाईमा कन्जुस्याई रहेको, कताकता कुदृष्टी हावी रहेको आभाष हुन्छ। 

विश्वमा सहकारी  र नेपालको परिवेश

करिब डेढ सयवर्ष अगाडि औद्योगिक क्रान्तिको समयताका, गरिबी र मुक्ति प्राप्तिका लागि बेलायतको म्यानचेष्टरबाट सुरु भएको सहकारी अभियान हाल विश्वब्यापी फैलिइसकेको छ । विश्वका अरबौं व्यक्तिहरु यस अभियानमा आवद्ध छन र दिनानुदिन मानिसहरु जोडिने क्रम जारी छ । सहकारीले आम नागरिकको आर्थिक सामाजिक रुपान्तरणमा भूमिका खेल्ने भएकाले, छरिएर रहेका पुँजीलाई एकिकृत गर्दै पुँजी निर्माण गर्ने र उक्त पुँजी उत्पादनसँग जोडेर रोजगारीमा वृद्धि गर्ने भएकोले यस्को महिमा विश्वभर व्याप्त छ । विश्वपरिवेशमा हेर्ने हो भने विषयगत सहकारी सँगसँगै कृषि उत्पादन र वितरणमा सहकारीहरूको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

नेपालको परिवेशमा सहकारी क्षेत्रले करिब ६४ वर्ष अघि चितवनको बखान सहकारीबाट शुरु भई झण्डै छ दशक पार गरिसके कोछ । तर नेपालमा बि. सं. २०४८ मा सहकारी ऐन मुलुकले प्राप्त गरे पछि मात्रै सहकारी अभियानले वृहतम् स्वरूपमा फड्को मारेको देखिन्छ। सहकारी मूल्य र मान्यता अनुरूप आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी अपरिहार्य ठानी राज्यले २०७२ सालको सम्बिधानमा तीन खम्बामा एक खम्बाको रुपमा स्वीकारेको देखिन्छ। आर्थिक सर्वेक्षण २०७७–०७८ को तथ्यांक अनुसार नेपालमा कूल सहकारी संख्या २९ हजार ८ सय ८६ रहेको र कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ सदस्य रहेको देखिन्छ। त्यस्तै सेयर पूँजी ८४ अर्ब१० करोड र बचत ४ खर्व ७७ अर्ब ९६ करोड रहेको देखिन्छ  । ऋण परिचालन तर्फ ४ खर्ब २६ अर्ब २६ करोड रहेको देखिन्छ । यस वाट करिब ८८ हजार ३ सय ९ रोजगारी श्रृजना भएको पाईन्छ। सांगठनिक हिसाबले पनि राष्ट्रिय सहकारी महासंघ १, राष्ट्रिय सहकारी बैंक १, बिषयगत केन्द्रिय सहकारी संघ १९, जिल्ला सहकारी संघ ७० वटा र विषयगत जिल्ला सहकारी संघहरु गरेर २५६ वटा रहेको देखिन्छ । यति धेरै पूँजी परिचालन र साधनश्रोत भएको क्षेत्र कमजोर पक्कै छैन । तर जानअन्जानमा केही ब्यक्ति र समुहहरुले निजी स्वार्थले फरक अभ्यासहरू गर्दा आजको दिनमा सहकारी क्षेत्र विकृति मौलाएको र यस क्षेत्रनै बद्नाम देखाउन केही क्षेत्र लागिपरेको देखिन्छ । सहकारी क्षेत्र धरापमा पर्नु भनेको देशले ठूलो आर्थिक सामाजिक क्षति ब्यहोर्नु हो। त्यसैले यस क्षेत्रमा आजकल सुदृढिकरण, मर्यादित ब्यबसाय जस्ता नारा दिन अभियान बाध्य छ। सहकारी अभियानलाई जोगाई राख्ने हो भने यहाँ समुदायमा आधारित सहकारीहरुलाई अभिमुखिकरण र अध्यावधिकरण को खाँचो छ भने गैरमान्यतामा संचालित सहकारीहरुको पहिचान गरी कारवाहीमा लानुपर्ने देखिन्छ ।  

सहकारी किन र के का लागि

बचत मार्फत छरिएर रहेका पूँजीलाई एकिकृत गर्दे पूंजी निर्माण गर्ने र उक्त पूँजी ऋणद्वारा सदस्यमाझ परिचालन गरी उत्पादनसँग जोडेर रोजगार निर्माण गर्ने साधन हो।  सहकारी एउटा मुल्य र मान्यतामा आधारित ब्यवसाय भएर पनि अन्य ब्यवसाय भन्दा फरक सामाजिक ब्यवसाय हो। समाजमा नाफामुलक र गैरनाफामूलक गतिविधि हुन्छन् । तर वास्तविक रुपमा भन्नुपर्दा सहकारी क्षेत्र, बुद्ध वाणीको मध्यम मार्ग भने झै दुई तै अतिवादहरुबीचको बाटो जस्तो छ । केही नाफा मुलक भइकन विशेषत सदस्यकै श्रोत परिचालन गरी सदस्यहरूलाई नै सेवा दिने र सदस्य बिचनै समुचित ढंगबाट प्रतिफल वितरण गर्ने एक मात्र उद्देश्श्य रहेको ब्यवसाय हो। यस क्षेत्रमा मुख्यतया प्रजातान्त्रिक नियन्त्रण, समूचित ब्यवस्थापन, जिम्मेवारी, आन्तरिक नियन्त्रण, र जवाफदेहिताको विषय प्रधान देखिन आउँछन्। नेतृत्व बिकास, व्यक्तित्वको विकास । पूँजी निर्माण, ब्यवसाय प्रवर्धन ु जोखिम न्यूनिकरण , क्षमता अभिवृद्धी, स्वनियन्त्रण, रोजगार श्रृजना जस्ता महत्वपूर्ण विषयहरू सहकारीसँग जोडिएको हुन्छ। सहकारीमा धन मात्र कमाउने उदेश्यले कोही लाग्ने विचार गर्नु भएको छ भने  त्यो ठुलो भ्रम र घातक हुनेछ। यहाँ सिकाइको निरन्तरता छ, आर्थिक आधार छन्, सामुहिक प्रयासको परिणाम छ, सामुहिक नेतृत्व र सामाजिक रूपान्तरणका नमूनाहरू छन् , समग्रमा भन्ने हो भने सहकार्य मार्फत सबैको सम्वृदि रहेको छ।

सहकारी क्षेत्र र युवा पुस्ता

सहकारी क्षेत्रको दिगो र संस्थागत बिकासका लागि यूवा पुस्तालाई सहकारीको वास्तविक मूल्यमान्यतालाई उजागार गरी, सोच र प्रवृत्तिमा केही परिवर्तन ल्याई , वास्तबिक सहकार्यद्वारा मर्यादित भई सहकारीरूपी सामाजिक ब्यवसाय तर्फ आकर्षक बनाई अघि बढाउन अपरिहार्य भइसकेको छ। सहकारी क्षेत्रमा लाग्ने भनेको आत्मसम्मान सहितको जिवनोपयोगी बाटो पहिल्याई सम्वृद्धिको गन्तव्यमा दोहऱ्याउने बाटो हो भनि बुझाउन सक्नुपर्यो । नीति, विधि र प्रवीधिमार्फत सहकारी व्यवसायलाई सुसँस्कृत र मर्यादित बनाउन सम्भव छ । हाल संसारभर फैलिरहेको कोरोना भाइरसको कहरले पनि मानव–मानवबीचको सहकार्य, विधिमा बस्ने  र प्रबिधी मैत्रि भएर बाँच्ने गरी सबैलाई बाँध्न खोजेको स्पष्ट देखिन्छ। यस बिषम परिवेशले जन्माएको कठोर समयमा पनि  सहकारी क्षेत्रले पुऱ्याएको सेवाहरूले गर्दा सम्भावित सामाजिक बिचलनलाई रोक्न ठूलो योगदान दिएको देखिन्छ । सहकारी क्षेत्रभित्र वित्तीय साक्षरताको ठुलो स्थान रहेको छ । यस विषयलाई युवामाझ उजागर गर्न सके र हालका नवित्तम प्रविधिहरु लाई जोडी पस्किन सके आजका युवापुष्ता सहकारी प्रति आकर्षित हुने स्पष्ट छ । हाल अभियानको नेतृत्ववर्गले सहकारीलाई फिनटेक र हाइटेकसँग जोड्ने अभियानमा लागिपरेको देखिन्छ र अबको सहकारीको बाटो भनेको डिजिटाइजेशन र सर्भिटाइजेशन नै हो भन्नेमा दुई मत देखिदैन । हाल नेपालको सहकारी क्षेत्रमा समुदायमा आधारित भई आफ्ना क्षमता अभिवृदि गर्दै एशियाली स्तरका नमूना सहकारीको रुपमा उभ्याउन सफल सहकारीहरु पनि छन् र ती संस्थाहरुले समाज रुपान्तरणमा र नागरिकहरुको आर्थिक सामाजिक उत्थानमा उदाहरणीय कार्य गरिरहेका छन् । यस्तै  बाटो र उदेश्यमा निरन्तरताकालागी हाम्रो स्कोप बचत तथा ऋण सहकारी संघ ललितपुरले प्रविधि र युवा पुस्तालाई जोड्न पहल गरिरहेको छ । ।

सदस्यको दायित्व र भूमिका

सहकारी क्षेत्र सामाजिक ब्यबसाय भएकोले वित्तीय र अन्य विषयगत कार्य गरे पनि अन्य वित्तिय क्षेत्र भन्दा भिन्न प्रकृतिको रहेको छ। यसमा ३ पक्ष मूख्य खेलाडीको रूपमा रहेका हुन्छन्, ती हुन सदस्य, सदस्यहरु बाटै प्रतिनिधिको रुपमा चुनिएर जाने संचालक समिति र लेखा समितिका पदाधिकारीहरु र व्यवस्थापन पक्ष ।  तिन पक्षको आ आफ्ने छुट्टा छुट्टै भूमिका रहेको हुन्छन्। यि पक्षहरुको तालमेलले मात्रै संस्था अधि बढेको हुन्छ । त्यसैले कुनै पनि संस्थाको दिगोपनका लागि अन्य दुई पक्षको भन्दा सदस्यहरुको पनि छुटै बिशेष भूमिका र दायित्व रहेको हुन्छ। मुख्यत कुनै पनि सहकारीका सदस्यहरूमा आफना संस्थाप्रति निष्ठावान भई संस्थाबाट उपलब्ध सबै प्रकारका सेवाहरु उपयोग गर्ने दायित्व रहन्छ। सदस्यले आफ्नो सदस्यता औपचारिकतामा मात्र सीमित राख्यो, उपलब्ध सेवाहरुप्रति चासो लिएन भने संस्था दिगो रहन सक्दैन। किनकी सहकारीमा सदस्य नै प्रमुख हुन्छ र सदस्यहरुकै  श्रोतसाधनलाई परिचालन र व्यवस्थापन गरी समूचित प्रतिफल सदस्यहरु माझ नै बाँड्ने गरिन्छ। सहकारीले गैर सदस्यबीच कारोबार गर्न मिल्दैन । सहकारी क्षेत्र सिकाइको क्षेत्र भएकोले यहाँ वित्तीय बाहेक सामाजिक र साँस्कृतिक कृयाकलापहरु पनि हुने भएकोले यी सबैमा सदस्यहरुको सहभागिता र चासो निरन्तर रहिरहनु सदस्यको मुख्य दायित्व र भूमिका हो । सहकारीमा सदस्यहरु आफैँ मालिक, नियन्त्रणकर्ता, सेवाग्राही र प्रतिफलका भागीदार हुन्। संचालक समिति, लेखा समिति र ब्यबस्थापन तिनै पक्षको जवाफदेहिता मात्र सदस्यहरुप्रति रहन्छन् । जुन प्रक्रियागत रुपमा बार्षिक साधारण सभा नामले चिनिन्छ ।

उपसंहार

विश्वमै सफल र हाम्रै देशमा पनि ६ दशकको अनुभव सम्हालिसकेको सहकारी अभियान आजका दिन सम्म पनि किन सम्मानित हुन सकेन ? अन्य वित्तीय क्षेत्रको पहुंच नपुगेको देशको कुनाकाप्चामा जनताद्वारा जनतालाई नै सेवा दिने सामाजिक सहकारी ब्यबसायलाई आजको दिनमा आएर मर्यादित ब्यबसायकालागी भनेर नारा दिनुपर्ने अवस्था किन रहिरह्यो ? कस्को कहाँनेर कमीकमजोरी हुन गयो ? यो सोचनीय विषय हो । सहकारी क्षेत्रलाई सही ढंगमा बुझ्न र बुझाउन सम्बन्धित पक्षहरुकै निरन्तर प्रयासबाट ऐनमा तेकेर २०४८ सलमा सहकारी मापदण्ड आएको छ । २०७२ सालको संविधानमार्फत सहकारीलाई ३ खम्बामा एक खम्बाको रूपमा घोषित गरी सहकारी ऐन २०७४ र नियमावली २०७५ हामीहरूले प्राप्त गरेका छौं। संघीय संरचना अनुसार राज्यको तीन तहमै व्यवस्थापन र नियमनका कामहरू अघि बढिरहेको  पनि देखिन्छ । सहकारी क्षेत्रलाई दिगो र विश्वसनीय बनाउन नियमन निकायले दुधको दुध पानीको पानी छुट्याई दिएर, सरकारी पक्ष र अभियानको बुझाईहरुलाई एकै बनाइ, प्रविधीमैत्री बनाई युवा पुस्तालाई आकर्षित गरी जिम्मा दिन सके सहकारीमार्फत सम्बृद्धि सम्भव हुने छ । देशको परनिर्भरता कम गर्न सकिने छन । सहकारीलाई सीमित व्यक्तिहरुले कमाई खाने भाँडो को रुपमा प्रयोग गरेका छन् कि, सहकारीको मुल्यमान्यतामा चलेका छन् वा छैनन्, समुदायको परिवर्तनमा योगदान दिएको अनुभूत भइरहेका छ कि छैन, आफुले पनि सदस्य बनेको संस्थामा आफनो सदस्यको भूमिका निर्वाह गरेका छन् की छैन, सोचने र सचेत हुने समय आएको देखिन्छ । जय सहकारी !