काठमाडौं । नेपाल सरकारले इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको बिद्राेही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि क्याबिनेट बैठक बसेर राष्ट्रिय शोकको घोषणा गरेको छ ।यस बैठकले भाेली मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।
यस दुःखद स्थितिमा भाेली मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।
मन्त्रिपरिषद्ले बिद्राेही समूहकाे आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।
यसरी नै मन्त्रीपरिषदले मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।