शुक्रबार, कार्तिक ७ गते २०८३

चोर्का सङ्ले साधु चोरै हुन्याहो / सत्का सङ्ले चोर साधू हुन्याहो / भंन्याजानी सन्तको सङ्गगर्नु / पापी जन्का साथ कैल्यै नपर्नु.... 📙 : सुब्बा देवीप्रसाद सापकोटा


आश्विन २२, २०८० सोमबार
चोर्का सङ्ले साधु चोरै हुन्याहो / सत्का सङ्ले चोर साधू हुन्याहो / भंन्याजानी सन्तको सङ्गगर्नु / पापी जन्का साथ कैल्यै नपर्नु.... 📙 : सुब्बा देवीप्रसाद सापकोटा

चन्द्र शम्शेरकालीन ‘मुन्सीखाना’ (परराष्ट्र विभाग) का सुब्बा देवीप्रसाद सापकोटा (वि.सं. १९२४–२०११) राष्ट्रवादी चिन्तक, राजनीतिज्ञ, पत्रकार र कविजस्ता बहुआयामिक व्यक्तित्व हुनुहन्थ्यो । त्यो बेला विदेशीसँग सन्धी–सम्झौता गर्दा सुब्बा देवीप्रसादको मूख्य भूमिका हुनेगर्थ्यो। उहाँले पटनामा शिक्षादीक्षा लिनुभयो ।
नेपाली राष्ट्रिय काँग्रेस (वि.स.२००३) को स्थापनाभन्दा अघि नै यसको पूर्वरुप (वा nucleus) ‘अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस’ को उहाँ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । आजको नेपाली कांग्रेस स्थापनाको सबभन्दा पहिलो बैठकको पहिलो सभापतित्व उहाँबाटै भएको थियो ।
तत्कालीन काँग्रेसको नाममा भारतीय भन्ने शब्द ब्रिटिशकालीन भारत र राणाकालीन नेपालको निरंकुश शासन तथा सुपुर्दगीबाट बच्न राखिएको थियो । किनकि यसका सबैजसो संस्थापक राणा शासनको कोपभाजनमा परेकाहरू नै थिए । अर्को कारण, उक्त काँग्रेसमा आबद्ध भएकाहरूमा उतै स्थायी बसोबास भएका नेपालीहरूको संख्या उल्लेख्य नै थियो।

Nepalijantakomukti.jpg
देवीप्रसाद मुन्सीखानाको सुब्बा हुँदै, भारतको ब्रिटिश शासनले तिब्बतमा युद्ध गर्न नेपालको भूमि र सैनिक सहायता माग्यो । कर्नेल फ्रान्सिस यौङ्हज्बेण्डको नेतृत्वमा एउटा ब्रिटिश टोली ब्यापार सन्धीको प्रस्ताब लिएर ल्हासा जान सिक्किमको गान्तोक पुगिसकेको थियो । तर पोटाला दरबार (तिब्बत) ले त्यसलाई ल्हासा प्रवेशको अनुमति दिएन । यही विवाद बढ्दै गएर ब्रिटिश भारत र तिब्बतका बीच युद्धको सम्भावना बढ्दैगयो । यसमा चन्द्र शम्शेर थापाथली सन्धीलाई लत्याउँदै ब्रिटिशहरूलाई सहयोग गर्न तयार थिए । यसका लागि उच्च पहाडी/हिमाली क्षेत्रमा सामान ढुवानी गर्न ४ हजार याक र खच्चरसहितको नेपाली टोली पूर्वी नेपालबाट यौङ् हज्बेण्डको क्याम्पमा पठाउने भए ।

तर सुब्बा साहेबले ‘नेपाल र भोट (तिब्बत) को थापाथली सन्धीअनुसार भोटसँग युद्धका लागि अँग्रेजहरूलाई सहायता गर्न नेपालको भूमी र सैनिक सहायता उपलब्ध गराउन मिल्दैन’ भन्ने अडान लिनुभयो। चन्द्र शम्शेर खुब रिसाए, आफूले भनेअनुरुप काम गर्न दबाब दिए । सुब्बा साहेबलाई दबाबमा काम गर्न मन लागेन । उहाँ स्वभावमा सत्यवादी र अलिक खरो टाईपकै मान्छे हुनुहुँदोरहेछ । चन्द्र शम्शेर उहाँलाई कडा कारवाही गर्ने तहमा पुगे, तर उहाँले आत्मसमर्पण गरी अह्राएको मानेर बस्ने दास हुन चाहनु भएन । चन्द्र शम्शेरले उहाँविरूद्ध राज्य विरुद्धको अभियोग लगाएर सर्वश्वहरण गरे । यहाँसम्म कि छोरीलाई दाईजो दिएको चल–अचल पनि भेटेजति सबै सम्पत्ती हरणमा पर्यो र त्यो सम्पत्ती मुन्सीखानाका मीरसुब्बा र सरदारहरूले बकस पाए ।

sabitrricharita.jpg
वि.स. १९६१ मा सुब्बासाहेब भारत निर्वासनका लागि बनारस पुग्नुभयो । राणा शासन समाप्त नपारी म नेपाल फर्किन्न भनी दृढ अठोट लिएर उहाँ बनारसमै निर्वासित हुनुभयो । त्यसपछि उहाँकी पत्नीसमेत बनारसतिरै धपाईनु भयो । त्यसैगरी नेपालबाट धपाईएका बीपीका पिताजी कृष्णप्रसाद कोईराला, कवि धरणिधर कोईरालाहरू मिलेर बनारसबाट 'गोर्खाली' पत्रिका प्रकाशित गर्न थाल्नुभयो । तर ब्रिटिश शासनले त्यसलाई बन्द गरायो ।
निर्वासित जीवनमै उहाँले ‘सावित्री चरित्र’ नामक खण्डकाब्य वि.स.१९७४ मा लेख्नुभयो (फोटो), जसलाई पहिलो प्रकाशनको एकसय वर्षपछि शब्दयात्रा प्रकाशनले पुनःमुद्रण र प्रकाशन गरेको छ । यसमा चन्द्र शम्शेरको बेइमानी, छलकपट र अत्याचारलाई घुमाउरो किसिमले प्रहार गरिएको छ । माथि उल्लेखित काब्यांश सोही खण्डकाब्यको पृष्ठ ४१ मा उल्लेखित छ । २०११ साल आश्विन २२ गते दशैंकै बीच उहाँको निधन भयो ।
--------------------------
(मूख्य स्रोत : श्री हरि मञ्जुश्री, बनेपा)

साभार : गौतमजीको मुहारपुस्तिका