डा. डेनिस् मुकेङ्गेरे मुक्वेगी (१९५५–) बलात्कार पीडित तथा त्यस्तै महिलाको उद्धार गर्ने अभियानकी इराकी नेतृ नादिया मुरादका (१९९३- ) साथ २०१८ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित, अफ्रिकी मुलुक कङ्गोका स्त्रीरोग विशेषज्ञ हुन् । कुनैबेला पाल्पामा कार्यरत पनि रहेछन् यी डाक्टर । त्यसैले उनी नेपाल र नेपालीलाई राम्रोसँग चिन्दछन् ।
उनले एउटा अस्पताल आफैंले स्थापना गरेका छन्, जहाँ करिब २ दशकदेखि विद्रोही समुहले बलात्कार गरिएका महिलाहरूको उपचार हुन्छ । कङ्गोको दोस्रो गृहयुद्धदेखि नै उनले लाखको संख्या छुन लागेका पीडित महिलाहरूको उपचार गरिसकेका छन् । एकै दिनमा दशौँ बलात्कृत महिलाका शल्यक्रिया पनि गरे ।
सन् २०१३ तिरै हुनुपर्छ आफू सम्बन्धित ‘राष्ट्रिय शान्ति प्रतिष्ठान’ (NTTP Institute) मा महिला बिरुद्धको हिंसा विषयमा एउटा अध्ययन दस्तावेज तयार पार्ने क्रममा खोज्दैजाँदा यिनका गतिविधि र देनलाई पहिलोपटक जान्ने मौका पाएको थिएँ । त्यो बेला उनको निर्वासनपछि स्वदेश फर्किने ठूलो खैलाबैला चलिरहेको सम्झिन्छु, मानौँ कंगोमा विधाता आउँदैछन् । यिनलाई बलात्कृत महिलाको उपचार गर्नमा विश्वमै कुशल चिकित्सक मानिन्छ । यिनले बुरुण्डी विश्वविद्यालयमा चिकित्साशास्त्र पढे । फ्रान्समा पनि थप अध्ययन गरे ।
उनले सन् २०१२ मा राष्ट्र संघमा एउटा भाषण दिँदै कङ्गोमा हुने गरेको सामुहिक बलात्कारको जोडदार निन्दा गरे र कङ्गोली लगायतका कुनै पनि सरकारले यसको रोकथामतिर उचित ध्यान नदिएको भोगाई खुलस्त पारे । सोही वर्ष यिनलाई मार्ने षड्यन्त्र भयो । तर उनी बाँचेर अस्पतालको काम छोडेर युरोपमा निर्वासित भए । आफ्नो अस्पतालले बलात्कार पीडितहरूलाई दिँदै आएको सेवा पनि तहसनहस भयो।
२०१३ को शुरूमा उनी स्वदेश फर्किए । उनको उपचार सेवा पाएका बलात्कार पीडितहरू र न्यायप्रेमी जनसमुदायले उनको फिर्तीका लागि भुईंकटहर र प्याज बेचेर तथा चन्द उठाएर प्लेनको टिकट किनिदिई झिकाए । उनको स्वागतका लागि एयरपोर्टदेखि २० किलोमिटर लामो जनसागर उर्लिएको थियो भनेपछि बुझौँ, यिनी कति जनप्रिय परोपकारी रहेछन् ।
उनको उपरोक्त भनाई २०१२ मा राष्ट्रसंघमा दिएको भाषणको अंश हो । यसको पूणरुप– You just can't imagine how a smile, a simple handshake, to just tell them 'be encouraged' is important to them. To feel they are loved, to feel they can finally find love and affection.
साभार - गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम