खोटाङ्ग चिसापानीका श्याम श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनमा कार्यक्षेत्र भने बिशेष गरेर उदयपुर जिल्ला बनाएका थिए । यद्यपि पार्टी कामको हिसावले उनी उयपुरका छिमेकी जिल्ला सप्तरी, सिरहा, सिन्धुली, सुनसरी लगायत अन्य जिल्लामा पनि पुग्थे र त्यताका साथीहरुसँग पनि उनको निकै राम्रो जानपहिचान थियो ।उदयपुरमा सचिबको जिम्मेवारीकासाथ उनले पार्टीको जिल्ला कार्यालय सञ्चालन, ब्यवस्थानपन र साथीहरुसँगको सम्पर्क बनाउने काम लामो समयसम्म गरे । क. श्याम श्रेष्ठलाई भेटेपछि सम्पर्कमा आउने कमरेडहरु ढुक्क हुन्थे र देशको राजनीतिक स्थिति र पार्टीका संघर्ष, संगठन र सिद्धान्त सम्बन्धि भूमिकाका बिभिन्न गतिबिधिहरुका बारेमा जानकारी पाएर फर्कन्थे ।
एक जुझारु यूवा जोशका संघर्षशील क्रान्तिकारी ब्यक्तित्व उनी खाशगरी २०४६ र पछिल्लो २०६२/६३ सालको संयुक्त आन्दोलनमा उनको जिल्लामा आन्दोलनको पृष्ठभुमि बनाउन र त्यसमा आन्दोलनकारी अरु घटकसँगै सक्रियतापूर्बक अग्रसर हुन तथा आन्दोलनकारी घटकहरुका बीच समन्वय गर्नमा महत्वपूर्ण र बिशेष भूमिका रहेको थियो । होचो होचो कदका कल्साउदो अनुहारका उनी या त संगठनका लागि किसानहरुका बीचमा पुगिरहेका हुन्थे या पार्टीका साथीहरुलाई भेटिरहेका हुन्थे या कुनै समस्यालाई लिएर प्रशासनमा प्रतिनिधि मण्डलकोरुपमा ठोस तर्ककासाथ छलफला चलाइरहेका हुन्थे या कुनै एकल या संयुक्त आन्दोलनमा सक्रिय रहेका हुन्थे या पार्टीका बिभिन्न इकाईका बैठकहरुमा छलफल चलाइरहेका हुन्थे ।
यसैले उदयपरमा उनी पार्टी भित्र र बाहिर पनि परिचित मात्र थिएनन् पार्टी बाहिर बिभिन्न आन्दोलनकारी बाम–लोकतान्त्रिक घटकहरुका बीचमा पनि उनी एक भरपर्दो र बिश्वासिलो ब्यक्तित्व थिए । यसरी उनी अन्य घटकको सम्पर्कमा मात्र थिएनन् संयुक्त घटकहरुको बैठक बोलाउने, आन्दोलनको साझा नीति तय गर्ने र त्यसमा अग्रसरताकासाथ कार्यान्वयनमा लाग्ने उनको पहिचान बनेको थियो ।
उनी २०६२/२०६३ को आन्दोलन चर्कदै गए पछि अरु घटकका साथीहरुसँगै दमनमा पनि परे र घाइते पनि बने । यसरी दमनमा परेपछि उनलाई ढाडको समस्या उत्पन्न भयो । आन्दोलनको अन्त्य पछि त्यसरी घाइते हुने दमनमा परेकाहरुलाई औषधोपचार र राहत दिने केन्द्रिय सरकारी नीति पनि बन्यो । तर कमरेड श्याम श्रेष्ठले तत्कालीन सात दल र माओबादी अनि प्रजिअ, डिएसपी र जिल्लाका चिकित्सा प्रमुखले समेत उनी घाइते भएको जन आन्दोलनकारी हुन भन्ने सिफारीश गरे पनि केन्द्रिय राहत केही पाएनन् । राहतमा पक्षपात हुँदा पनि उनले खाशै कुनै कुरा उठाएनन् र गुनासो पनि गरेनन्। तर आान्दोलनपछिको पक्षपात र संकीर्णताको अनुभव उनले गरेका थिए । त्यसैले आन्दोलन पछिको परिबर्तित स्थितिमा जनतासँगको ब्यबहार ठिक नहुने लख भने उनले काटेका थिए । आजको अबस्थाले उनले अनुमाान गरेको कुरा शतप्रतिशित प्रमाणित भएको छ ।
यसरी संघर्षशील रहेका कमरेड श्याम श्रेष्ठलाई अन्ततः क्यान्सरले पनि गाँज्यो । काठमाण्डौ र भरतपुरमा उपचारको क्रम चल्यो । उनलाई ठूलै रीन पनि लाग्यो । तर सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थासँग नझुकेका उनी क्यान्सरसँग झुक्न बाध्य भए । उनले हामी सबैलाई अल्पायुमै छोडेर गए । हामीले उनलाई भरतपुर क्यान्सर अस्पतालबाट जुलुशसहीत नारायणी नदी किनार देबघाट लागेर अश्रुपूर्ण अन्तमि श्रद्धाञ्जली दियौं । यद्यपि उनले कम्युनिष्ट आन्दोलनमा खेलेको सक्रिय र जुझारु भूमिका र अनुभवहरु अहिले पनि अमर छन् । नेपाल कम्युनिष्ट पार्टीमा जिल्ला, परिषद र केन्द्रिय तहसम्मकाे सांगठनिक भूमिका निभाउने उनको सक्रियता, अध्ययनशीलता र अथक एबं अबिचलित संघर्षका गुणहरुबाट हमीले सिक्नु पर्दछ । यही नै उनीप्रति साँच्चो श्रद्धासुमन हुन्छ । उनकी जीवन संगीनी इन्दिरा,(जसकाे पनि यही असाैज १ गते दुःखद निधन भएकाे खबर छाेरी स्मृतिले दिदा स्तब्ध हुन पुगियाे) छोरी स्मृति र छोरा निशानलाई पनि ढाडस मिल्दछ । इति,