बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यस अघि दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ । त्यसैगरी दिउँसाे ३ बजेर १३ मिनेट जाँदा साेही क्षेत्रमा ५.१ म्याग्निच्यूडकाे कम्पन मापन केन्द्रले रेकर्ड गरेकाे छ ।
भारतीय मिडियाहरूले राजधानी दिल्लीमा समेत कम्पन महशुस गरिएकाे जनाएका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताएका छन् । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएकोबारे औपचारिक जानकारी आएको छैन । केहि स्थानमा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको जानकारी उनले दिए । उद्धारका लागि सुरक्षाकर्मी तैयारी अवस्थामा राखिएको उनले जनाए । स्थानीयहरूका अनुसार विभिन्न स्थानमा घरहरु चर्किएका र लडेका छन् ।