नेपाल राष्ट्र बैंकले भारतीय रुपैया १०० भन्दा माथिका नोट नेपालमा प्रतिबन्धित रहेको जनाएको छ ।
वित्तीय चेतनाका लागि आज एक सन्देश जारी गर्दै राष्ट्र बैंकले नेपालमा भारु १०० दरभन्दा ठूला नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको हो ।
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अधिकतम ५००० अमेरिकी डलर बराबरको भारतीय रुपैया मात्र ल्याउन वा लैजान सकिने र सो भन्दा बढी रकम भए भन्सारमा घोषणा गर्नुपर्ने जनाइएको छ ।
भारत भ्रमणका लागि नगद भा. रु. २५,००० सम्म र औषधोपचारको लागि नगद भा. रु. ५०,००० सम्म सटही सुविधा बैंक तथा वित्तीय संस्था वा मनि चेञ्जरबाट बाट लिन सकिन राष्ट्र बैंकले जनाएको छ ।
कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत गरिने कारोबारमा भने उक्त सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

नेपालपत्र संवाददाता