शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकद्वारा लहानको नवनिर्मित  भवनबाट वित्तीय कारोवार सुरु


आश्विन ८, २०८० सोमबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा लहानको नवनिर्मित  भवनबाट  वित्तीय कारोवार सुरु


राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा. –६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी  उद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि एवं म’ख्यमन्त्री सरोजकुमार यादबले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले रा.वा.बैंकसँग सहकार्य गर्ने बताउँदै बैंक मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले रा.वा.बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै ब्यवसायीहरुलाई रा.वा.बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह  गरे ।

उनले विपन्नवर्गको सशक्तिकरणका लागि विना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने  बताए ।  बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको उनको भनाई छ । बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तब्य  व्यक्त  गरेका थिए भने  ब्रान्च अपरेशन विभागका प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेको थिए ।

 कार्यक्रममा संघीय सांसदहरु रामशंकर यादब, गंगाप्रसाद यादब तथा प्रदेश सांसदहरु राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाश, बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।