(वसन्ततिलका)
=========================
बेची युवा अरबमा पसिना असुल्छ
भोका लुते कुकुर साथ लिएर डुल्छ
टेक्दैन पाउ दरिलोसँग जोड्छ यन्त्र
जन्मै अपाहिज रहेछ कि लोकतन्त्र ।१।
राजा अनेकथरिका शिरमाथि बोक्छ
रैती बुझेर निमुखा जतिमात्र टोक्छ
छन् सङ्घभित्र अनपेक्षित भिन्न प्रान्त
स्थायित्व छैन सरकार सधैँ अशान्त ।२।
आफ्नो बुता र परिपक्व रहेन आँट
यो शक्तिकेन्द्रसँग गर्दछ साँठगाँठ
सत्ता बसाउँछ थला जनता दुहिन्छन्
आशा चुनाव पखका बिचमै तुहिन्छन् । ३।
पाखण्डको मुलुकमा चुलिँदैछ हाबी
झोले मरे सहिदको पनि गर्छ दाबी
नेतृत्ववर्ग घरको, परको छ दास
यो लोकतन्त्र पनि गर्दछ अट्टहास । ४।
छन् काण्ड नागरिकका सुनका तमास
ओम्नी कतै छ धमिजा ललितानिवास
सत्ता छ यो निकटमा अझ साँघु तर्ने
चोख्याइँदैछ सजिलै अपराध गर्ने ।५।
साली र भाइ भतिजा जति छानिएर
पुग्छन् विशिष्ट पदमा सब तानिएर
हत्या जघन्य अपराध सयौँ वितण्डा
छोपेर हिँड्छ दलको अपवित्र झन्डा ।६।
यस्तो दुरूह छ चरित्र र नग्न नृत्य
सत्ता पसार्छ अझ हात बनेर भृत्य
थाप्दै विदेशसँग आसिक मूलमन्त्र
हाँक्दैछ यो मुलुकको नव लोकतन्त्र ।७।
=========================
इन्द्र नारायण सुवेदी