शनिबार, आश्विन १७ गते २०८३

हस्तकला वस्तुको निकासी व्यापारका समस्या र समाधानका उपायको खोजी

आश्विन ४, २०८० बिहीबार
हस्तकला वस्तुको निकासी व्यापारका समस्या र समाधानका उपायको खोजी

 

नेपाल हस्तकला महासंघको आयोजनामा हस्तकला वस्तुको निकासी ब्यापारमा बिद्यमान समस्या र समाधानका उपायहरु विषयक गोष्ठी सम्पन्न भएको छ । निकासी ब्यापारसँग सम्बन्धित नेपाल सरकार र निजी क्षेत्रका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु, निर्यातकर्ता तथा उद्यमी ब्यवसायीहरुबीच उक्त गोष्ठी आयोजना गरिएको हो ।

नेपाल बैंक लिमिटेडको सह आयोजनामा भएको गोष्ठीले नेपाल सन् २०२६ पछि अल्प विकसित मुलुकबाट विकाससील मुलुकमा स्तरोन्नति भए पछिका अवसर र चुनौतीहरुलाई समेत मध्य नजर गरि नेपालको आगामी १६औं पञ्चवर्षिय योजनामा पनि हस्तकला क्षेत्रमा गर्न सकिने योजनाहरु पहिचान गर्ने तथा समग्र हस्तकला उद्योग व्यवसायको समस्या र यस क्षेत्रमा आगामी दिनमा गर्नु पर्ने कार्यहरुको पहिचान गर्ने उद्देश्य रहेको थियो ।  
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका बाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीकोे प्रमुख आतिथ्यमा भएको गोष्ठीमा महासंघका कार्यवाहक अध्यक्ष सनम शाक्यले स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अथिति मरासिनीले आफ्नो मन्तव्यको क्रममा नेपाली हस्तकला वस्तुलाई ब्यापारको नजरबाट मात्र हेरिन नहुने भन्दै यसले हाम्रो मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेश सम्म उपहारको रुपमा पुर्‍याउने र नेपाली सिप र कलाको उत्कृष्टताको पहिचान उजागर गरि विदेशी मुद्रा नेपालमा भित्राउन समेत योगदान गरेको बताए ।

महासंघको वाणिज्य परिषद्का सभापति तथा महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले हाल नेपाल सरकारबाट हस्तकला उद्योग ब्यवसायलाई साना, घरेलु तथा लघु उद्योगमा राखेर बिभिन्न नीति नियमहरु तर्जुमा गरेकोमा हस्तकला उद्योग व्यवसायलाई छ्ुट्टै उद्योगको रुपमा पहिचान नगरे सम्म यस क्षेत्रको समुचित बिकास नहुने धारणा राखे । हस्तकला एक बिशेष प्रकृतिको उद्योग भएकोले यसलाई अल्लगै नीति नियमको आवश्यकता रहेको र यस कार्यक्रमबाट आएको बिभिन्न सुझावहरुलाई एकिकृत गरी एक दस्तावेज बनाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाई सो बमोजिम नीति नियमहरु कार्यान्वयन गराउनुपर्ने उनले बताए ।

यसै क्रममा हस्तकला बस्तुको निकासी ब्यापारमा विद्यमान समस्या र समाधानका उपाय विषयमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व उपसचिव हिमाल थापाले गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालका प्रमुख हस्तकला वस्तुहरुको निकासी स्थिति, नेपाली हस्तकलाका वस्तुको प्रमुख गन्तव्य, नेपाली हस्तकला वस्तुको विशेषता, नेपाली हस्तकलाको आन्तरिक तथा नितिगत समस्याहरु, नेपाली हस्तकला उद्योगको प्रवद्र्धनका लागि चालिनु पर्ने कदमहरु आदि बारेमा उनले विस्तृत प्रस्तुति गरेका थिए ।

कार्यक्रमका सह आयोजक नेपाल बैंक लिमिटेडबाट वरिष्ठ प्रबन्धकहरुले निकासी ब्यापार प्रवर्धन तथा सहजिकरणमा बाणिज्य बैंकको भूमिका र बैंकहरुले निर्यातकर्ता, उद्योगी ब्यवसायीहरुलाई उपलब्ध गराउने कर्जाहरु तथा निकासी व्यवसायमा प्रयोग हुने भुक्तानीका सेवाहरु बारेमा प्रस्तुति दिएका थिए ।

ब्यापार तथा निकासी प्रवद्र्धन केन्दका कार्यकारी निर्देशक शरद विक्रम राणाज्यूले आफ्नो मन्तव्यको क्रममा हस्तकला उद्योग र ब्यवसायको बिकास एवं निकासीको लागि नीजि र सरकारी निकायहरु दुवैले आ–आफ्नो तर्फबाट योजनाकृत योगदान गनुपर्ने बताए । हाल नेपाली हस्तकला निर्यातको अवस्था केहि सानो र स्थीर रहेकोमा यसलाई फैलाउन र बढाउँदै लानको लागि महासंघको तर्फबाट आफ्नो ब्यापार मेला जस्ता प्लेटफर्ममा विदेशीहरुलाई बोलाइ बीटुबी बैठकहरुका माध्यमबाट प्रवर्धनात्मक कार्यक्रमहरु आयोजना गर्नुपर्ने उनले उल्लेख गरे ।