काठमाडौं । राष्ट्रिय क्रान्तिकारी माेर्चा नेपालकाे काठमाण्डाैमा हिजाे बसेकाे बैठकले संयुक्तआन्दोलनको तयारी गर्ने महत्वपूर्ण निर्णय लिएकाे छ ।
देशमा कृयाशील विभिन्न कम्युनिस्ट घटक, संघसंस्था तथा व्यक्तित्वहरू मिलेर बनेको यस राष्ट्रिय माेर्चाले एमसीसी, नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरण आदि देशका बर्तमान जल्दाबल्दा र ज्वलन्त विषयमा आन्दोलनको तयारी गर्ने निर्णय लिएकाे हाे ।
यसका लागि बैठकले सर्बप्रथम राजधानीमा संयुक्त आन्दोलन तथा संयुक्त मोर्चा सम्बन्धी महत्वपूर्ण छलफलका लागि अन्तरक्रिया कार्यक्रम गर्ने समेत ठेगान गरेको छ ।
बैठकपछि जारी वक्तव्यमा नेपाल शिक्षक महासंघले शिक्षा विधेयक फिर्ता गर्न र नयाँ विधेयकको माग गर्दै संचालन गरेको शैक्षिक आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गरेको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीद्वारा हिजाे २०८० असोज ३ गते जारी वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ ।
उक्त वक्तव्यकाे पूर्ण ब्यहाेरा यस प्रकार छ :
“राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको मिति २०८० आश्विन ३ गते संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा बैठक बस्याे । बैठकले निम्न लिखित निर्णयहरू गरेको छ :
१. शहीदहरूको सम्झनामा एक मिनेट मौनधारणा गरी अगाडि बढेको बैठकमा मोर्चालाई अहिलेको अवस्थामा ल्याई पुराउन महत्वपूर्ण योगदान पुराउनु हुने निवर्तमान संयोजक क. नारायण प्रसाद शर्मालाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
२. हाल नेपाल शिक्षक महासंघले शिक्षा विधेयक फिर्ता गर्न र नयाँ विधेयकको माग गर्दै संचालन गरेको शैक्षिक आन्दोलन प्रति बैठकले ऐक्यबद्धता प्रकट गरेको छ ।
३. बैठकमा समसामयिक राजनीतिबारे छलफल भयो । बैठकले आन्दोलन, प्रचारप्रसार, आर्थिक, सम्पर्क समन्वय आदिलाई सहज ढंगले सम्पन्न गर्नका लागि समितिहरू गठन गरेको छ ।
४. आगामी आश्विन १९ गते राजधानीमा संयुक्त आन्दोलन तथा संयुक्त मोर्चा सम्बन्धी छलफलका लागि एउटा अन्तरक्रिया कार्यक्रम राख्ने ठेगान भएको छ । सो अन्तरक्रिया पछि बैठक बसी आगामी संघर्षका कार्यक्रम ठेगान गरिने छ ।”
नेपालपत्र संवाददाता