शनिबार, आश्विन १७ गते २०८३

आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब २३ अर्बको आयात, निर्यात भने १३ अर्ब मात्रै


आश्विन १, २०८० सोमबार
आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब २३ अर्बको आयात, निर्यात भने १३ अर्ब मात्रै

 

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १ खर्ब २९ अर्ब २४ करोडको वस्तु आयात भएको छ । कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमश: ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्धि भएको छ । अन्य मुलुकबाट भएको आयात २३.१ प्रतिशतले कमी आएको छ । 

धान तथा चामल, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, हट रोल्ड शिट, विद्युत्तीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई रु.१३ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, औषधी (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई रु.११५ अर्ब ७१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो ।