आइतबार, आश्विन १८ गते २०८३

शिक्षा विधेयकको विरोधमा देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा उत्रिने शिक्षकहरूको चेतावनी

भाद्र २९, २०८० शुक्रबार
शिक्षा विधेयकको विरोधमा देशभरका विद्यालय बन्द गरेर काठमाडौंमा उत्रिने शिक्षकहरूको चेतावनी

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलनको घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो ।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न नसकेको महासंघको अरोप छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरे । उनले नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनमा सहभागी हुनका लागि आह्वान गरे । जायज मुद्दा सरकारले सम्बोधन गरेपछि मात्रै आन्दोलन अन्त्य गर्ने उनको दाबी छ ।

संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरु बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए । विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरुमाथि विधेयकले विभेद गरेको उनको आरोप छ ।

उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै शिक्षकको आन्दोलनमा स्थानीय तहले चोर औंला नउठाउन चेतावनी दिए ।

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लच्छीराम ढकालले ५२ वर्षपछि बन्न लागेको शिक्षा ऐन ५२ वर्षभन्दा पनि पहिलेको जसरी आएको टिप्पणी गरे । शिक्षकहरु सडकमा आउन पर्ने बाध्यकारी अवस्था आएको उनले बताए । विद्यालयभित्र काम गर्ने शिक्षक र कर्मचारीहरुको पेशागत सुरक्षामा सरकार गम्भीर नभएको उनको आरोप छ । उनले अहिलेको विधेयकले शिक्षक, कर्मचारीलाई मुर्ख बनाउन खोजेको बताए । विद्यालयभित्र काम गर्ने शिक्षक कर्मचारीलाई आगामी ३ गतेदेखि विद्यालय खोल्न नभएर सडक जाम गर्नका लागि ओर्लन आग्रह गरे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले नेपालको संविधानलाई हवला दिएर शिक्षा विधेयक ल्याउन खोजिएको बताए । राज्यले शिक्षालाई ध्वस्त बनाउन खोजेको उनको दाबी छ । विधेयकले शिक्षकमाथि लगाएका अध्याय र विभेद नसच्चिएमा सत्ता धरापमा पर्ने उनको चेतावनी छ ।

‘आज जसरी शिक्षकहरुमाथि अन्याय र विभेद तिमीहरुले लगाउन खोज्दैछौ, यदि त्यो सच्याइएन भने मलाई लाग्छ तिम्रो सत्ता पनि धरापमा पर्नेछ,’ उनले भने ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका कार्यवहाक अध्यक्ष कमला थापाले जनशक्ति तयार गर्ने शिक्षा क्षेत्रलाई सरकारले बेवास्ता गरेको बताईन् । सरकारले शिक्षक, कर्मचारीलाई बेवास्ता गरेर विधेयक ल्याएको उनको भनाई छ । शिक्षकको हातखुट्टा बाँधेर विधेयक ल्याउन खोजेको उनले बताईन् । सम्पूर्ण शिक्षक र कर्मचारीलाई आन्दोलनमा सहभागी हुने उनले आग्रह गरिन् ।

नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष सोमनाथ गिरी सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकका विरुद्ध मुलुकका चार लाखभन्दा बढि शिक्षक कर्मचारी सडकमा आउने बताए । सरकारले शिक्षकहरुको मुद्दामा पटकपटक सहमति गर्ने र आफूहरु कक्षाकोठामा गएपछि बेवास्ता गर्ने गरेको उनको भनाइ छ ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष कमला तुलाधरले सरकारले शिक्षकहरुले बेला–बेला गरेको आन्दोलनमा सहमति गरेको र उक्त सहमति रद्धिको टोकरीमा फालेको बताईन् । उनले आफूहरुलाई विद्यालय बन्द गरेर आन्दोलन गर्ने रहर नहुँदा पनि सरकारले आन्दोलनको रहर गरेको बताइन् । उनले अबको आन्दोलनमा ठूलो आँधीबेहरी आउने र कसैले पनि रोकेर रोक्न नसक्ने बताइन् । अब आफूहरुले सडक नछोड्ने उनको भनाइ छ ।