आइतबार, आश्विन १८ गते २०८३

कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक, ४० लाख परिवार खेतीपातीमा आवद्ध

भाद्र २१, २०८० बिहीबार
कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक, ४० लाख परिवार खेतीपातीमा आवद्ध

 

राष्ट्रिय तथ्यांक कार्यालयले कृषि गणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेको छ । अनुसार १० वर्षको अवधिमा खेतिपाती गर्नेको संख्या ७.६१ प्रतिशतले बढेको छ। कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार परिवार खेतीपाती आवद्ध छन् भने १ लाख ३२ हजारले पशुपंक्षी मात्र पाल्ने गरेका छन् ।

कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।

२०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए । हरेक १० वर्षमा हुने गणनाको नतिजा कार्यालयले बिहीबार सार्वजनिक गरेको हो। कृषि गणना २०७८ अनुसार मुलकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो छ ।

वि.सं. २०१८ सालदेखि हरेक दश/दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय  ले २०७८ चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।