शनिबार, आश्विन १७ गते २०८३

बिगो असुली गर्न समस्या भएको भन्दै बैंकिङ कसुरमा सम्पत्ति रोक्का राख्न सुझाव

भाद्र २१, २०८० बिहीबार
बिगो असुली गर्न समस्या भएको भन्दै बैंकिङ कसुरमा सम्पत्ति रोक्का राख्न सुझाव

सम्पत्ति रोक्का नराख्दा बिगो असुली गर्न समस्या देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान गर्दा सम्पत्ति रोक्का राख्नुपर्ने सुझाव दिएको छ । 

नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा बैंकिङ कसुरहरुको अभियोजन समस्या र समाधानका विषयमा बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान गर्दा सम्पत्ति रोक्का राख्नु पर्ने सुझाव महान्यायाधिवक्ता कार्यालयले दिएको हो ।

बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान गर्दा बिगो असुली प्रयोजनका लागि सम्पत्ति रोक्का राक्न सकिने कानूनी व्यवस्था भएको भन्दै अनुसन्धान अधिकृतले सम्पत्ति रोक्का राख्न पहल गर्नु पर्ने महान्यायाधिवक्ता कार्यालयले  जनाएको हो ।

त्यसैगरी चेक जारीकर्ताको खातामा पैसा भएको अवस्थामा चेक रिटर्न स्लिप जारी गर्न नहुने महान्याधिवक्ता कार्यालयको सुझाव छ। हस्ताक्षर नमिलेको, रकम फरक परेको अवस्थामा बैंकले चेक रिटर्न स्लिप जारी गर्न नहुने कार्यालयले जनाएको छ ।

कर्जा दुरुपयोगको कार्य बैंकिङ कसुर तथा सजाय ऐन, राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र बैंक तथा वित्तिय संस्थाको ऋण असुली ऐन अन्तर्गत मुद्दा दायर हुने हो एकिन हुन नसक्दा समस्या भएको महान्यायाधिवक्ता कार्यालयको ठहर छ।

बैंकिङ कसुर अन्तर्गत कर्जा दुरुपयोगको कार्य बैंकिङ कसुर भएको तथ्य यकिन गर्न अनुसन्धान अधिकारी, अनुसन्धान निर्देशन, अभियोजन निर्णय अधिकारी र सरोकारवाला बीचको समन्वयन प्रभावकारी बनाउनु पर्ने महान्याधिवक्ता कार्यालयले जनाएको छ ।