एनआईसी एशिया बैंकले आयोजना गरेको ‘एनआईसी एशिया फुटसल कप २०२३’ प्रतियोगिता सम्पन्न भएको छ ।
कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रवर्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा कर्मचारीहरुको उत्साहपूर्ण सहभागिता भएको बैंकले जनाएको छ ।
सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायक खेल काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्न भएको हो ।
लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुरपश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो ।
खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदुरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् ।
त्यसैगरी, उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित काकी रहेका छन् । अर्कोतिर उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् । प्रतियोगिताका बिजेता, उपविजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको हाे ।
नेपालको कर्पोरेट क्षेत्रमा हुने खेलकूद इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता रहेको आयोजकको दावी छ । जहाँ प्रत्यक्ष संलग्न १२ सय भन्दा बढी कर्मचारी सहित कुल ३९ सय भन्दा बढी कर्मचारी संलग्न रहेको बैंकको विवरण छ ।
प्रतियोगिता समापन कार्यक्रमलाई शोभा बढाउन नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो ।
कर्मचारीहरुका लागि ‘बैंक अफ फष्ट चोइस’ बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रुपमा अगाडि बढिरहेको एन आई सी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भाद्र २ गते सम्पन्न भएको थियो ।
प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरु कोशी प्रदेशको बिराट चोकमा अवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेश प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, वाग्मती प्रदेशको काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामा अवस्थित बी–फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगन्जमा अवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एमएनएस फुटसल, सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए ।