आजको विश्वको भू–राजनीतिक परिदृष्य र समीकरणमा तीब्र गतिमा परिवर्तन हुँदै जान थालेको छ । अमेरिकाको एकछत्र प्रभुत्वलाई चुनौति दिँदै चीनसहित ब्रिक्स–प्लसमा आवद्ध देशहरु मिलेर नयाँ विश्व मोर्चाको विस्तार र सुदृढीकरण गर्दै नयाँ आकारकासाथ अघि बढेका छन् । यूक्रेन युद्धका कारण रुसमाथिको पश्चिमा देशहरुले लगाएको कडा प्रतिबन्ध तथा चीनको अमेरिकसाँगको बढ्दो शीत युद्ध अनि पश्चिमाहरुले ताइबानमाथि चीनको सम्भावित आक्रमणको आशंका सहीतको बिश्व गतिरोध यतिबेला परिदृष्यमा देखिन्छ।
यसै बेला अनेक महत्वपूर्ण अन्तर्राष्ट्रिय शीर्ष सम्मेलनहरु भारतमा समेत हुन थालेकोले भारतले पनि आफुलाई विश्वको प्रमुख खेलाडीकोरुपमाा सम्झिन थालेको र दिल्लीलाई ‘आभासी विश्व राजधानी’ मान्न थालेको देखिएको छ । यस सन्दर्भमा शंघाई सहयोग संगठन(एससीओ) र जी–२० को समेत अध्यक्षता गर्न पाएकोले पनि भारतले आफुलाई बिश्वको एउटा प्रमुख शक्तिकोरुपमा लिन थालेको प्रतीत हुन्छ । अन्तरिक्ष कार्यक्रमका सन्दर्भमा पनि चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान उतारेर अन्तरिक्ष यात्राकै इतिहासमै पहिलो पटक नयाँ आयाम र कीर्तिमान कायम गरेको छ ।

हुन पनि अगस्ट २०२१ मा अफगानिस्तानबाट अमरिका फर्किन बाध्य बने पछि पश्चिम एशियाली देशहरूमा ब्रिक्सको बिस्तार गर्ने थप अवसर पनि मिल्याे । रूस–यूक्रेन युध्दमा अधिकांश देशहरूले अपनाएकाे तटस्थताले या पश्चिम बिरोधी दिशातर्फकै प्रष्ट संकेत गर्दछ । यस सन्दर्भमा मार्च २०२३ मा चीनकाे मध्यस्थतामा भएको साउदी अरब र इरान बीच शान्ति समझौता तथा यस्तै अन्य अन्तर–क्षेत्रीय सुलह– समझौताको प्रयासहरूका अतिरिक्त पश्चिम एशियाली देशहरू बैकल्पिक सुरक्षा ब्यबस्थाको खोजी पनि गरिरहेका छन् । रूसको ती देशहरूसँग घनिष्ठ सम्वन्ध रहेको छ । भारतकै पनि साउदी अरब, संयुक्त अरब इमिरेट्स र मिश्रसँग रणनीतिक साझेदारी रहेको छ । त्यसरी नै इरान पनि क्षेत्रीय दृष्टिकाेणले एउटा महत्वपूर्ण साझेदार र सहभागी रहेको छ । त्ये क्षेत्रबाट भारतले ७० प्रतिशतभन्दा बढी कच्चा तेल पैठारी गर्दछ र भारतको विदेशी मुद्राको एउटा ठूलो अंश अमेरिकी डलरमा दिने गर्दछ। त्यस क्षेत्रमा भारत हातहतियारको विक्री तथा सुरक्षा साझेदारीको कुरामा पनि अघि सर्न थालेको छ ।
विश्व कोभिड–१९ महामारी तथा रूस–यूक्रेन युध्दबाट उत्पन्न विश्व–परिस्थितिका कारणले विकसित हुन थालेको नयाँ विश्व अवस्थाको भू–आर्थिक तथा भू–रणनीतिले चूनौतिहरूका साथै अवसर पनि प्रदान गर्दछन् । ब्रिक्स भित्र चीन र भारतबीच रहेका सीमा समस्या लगायतका परस्परका सम्बन्धका कटुताहरू पनि कम हुँदैजाने अपेक्षा पनि गरिदैरहेको छ । यसले ब्रिक्स अझ सबल, विस्तारित तथा सुदृढ हुने अपेक्षा गरिदै आएको पनि छ । चीन र भारतले परस्पर संयम, धैर्य र सहिष्णुताकासाथ अगाडि बढ्न् अठोट गर्न सके भने अब एशियाले बिश्वको नेतृत्व गर्ने कुरामा कुनै सन्देह रहँदैन । ब्रिक्सले विश्वको सही र सार्थक नेतृत्व गर्नका लागि पनि परस्परका समस्या सुल्झाउन अति जरुरी छ ।