(शिखरिणी)
============================
मलाई कुम्ल्याए खुरुखुरु विमानस्थल लगे
जता लान्थे लाग्थेँ पछिपछि हुँदैहुन्न नबगे
विनाबाधा पुग्थेँ सकुशल ठुला साहु घरमा
सिकारीले भेटे अनि म छु परेको अभरमा ।१।
थियो आशा चढ्दा अवतरण गर्ने सकुशल
उडेँ छिर्ने बाटो कति छ सब हेर्दै तल तल
उतार्यो विस्तारै जब जमिनमा यान अडियो
सबै साङ्गोपाङ्गो विवरण मिलाएर पढियो ।२।
थियो जोगाएको सहज पहिलेको चरणमा
समायो बिस्तारै अलिकपछि पार्यो मरणमा
मलाई थन्क्याए अनधिकृत हो यो सब भनी
बनेँ कैदीजस्तो सडकबिच आएर म पनि।३।
म घुम्थेँ मन्त्रीका वरिपरि सजिन्थेँ महलमा
तिनैको आज्ञामा अपरिमित आदेश बलमा
विनाहल्ला बेच्थे अघिअघि म बिक्थेँ डलरमा
विदेशीका कोठी महल अनि सम्भ्रान्त घरमा ।४।
पगाल्दै छन् कोही कति पुगिसके जेल घरमा
कयौँ तर्सेका छन् छलकपट शङ्का र डरमा
घरानावालाको दलबल र हुङ्कार छ ठुलो
तिनैलाई मात्रै विधि नियम देखिन्छ खुकुलो ।५।
फसाइन्छन् साना दलित भरिया दुर्बलहरू
सुरक्षा घेरामा अपचलन गर्ने जति अरू
रहेका देखिन्छन्, बिसम छ यहाँ कानुन पनि
त्यसैले फेरिन्छन् लसुन पनि चाँडै सुन बनी ।६।
भए हुन्थ्यो माटो पतकर सडेको बरु म ता
पुग्यो इच्छा मेरो सुन रहन चाहन्न अब ता
यहाँ गुन्डागर्दी प्रतिदिन चलेको छ यसरी
म जोगाऊँ मेरो छवि सुन बनाएर कसरी ।७।
========================
इन्द्र नारायण सुवेदी