आइतबार, आश्विन १८ गते २०८३

सुन तस्करी प्रकरणमा महरापुत्र राहुल प्रहरी नियन्त्रणमा

भाद्र १३, २०८० बुधबार
सुन तस्करी प्रकरणमा महरापुत्र राहुल प्रहरी नियन्त्रणमा

 

पूर्व सभामुख तथा एनेकपा माओवादीका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले पक्राउ गरेको छ । ९ केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले राहुललाई बुधबार काठमाण्डाैबाट नियन्त्रणमा लिएको प्रमुख एआईजी किरण बज्राचार्यले जनाएकी हुन् ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो । वाङसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । 

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरा बाबुछोरालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने आवाज उठ्नुका साथै माओवादी नेतृत्वको सरकार आफ्ना पार्टीका कार्यकर्ता जोगाउन लागिपरेको भन्दै आलोचना हुने गरेको छ ।