न्यायका लागि मानवाधिकार सञ्जालका संयाेजक इन्द्रप्रसाद अर्यालले एक बक्तब्य प्रकाशित गर्दै बेपत्ता पारिएका नागरिकहरूकाे स्थिति प्रष्ट पार्न र दाेषीमाथि कारबाही गर्न माग गरेका छन् । बलपूर्वक बेपत्ता पारिएका पीडितहरूकाे अन्तर्राष्टि्य दिवस अगष्ट ३० काे सन्दर्भमा उनले न्यायकाे माग गरेका हुन् ।
वक्तब्यकाे व्यहाेरा यसप्रकार छ :
" बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तराष्ट्रिय दिवस” पीडितको सम्झना र न्यायका लागि आज विश्वभर स्मरण गरिंदै गर्दा नेपालको १० बर्षे द्वन्द्व कालमा तत्कालिन विद्रोही र सत्तापक्षवाट वेपत्ता पारिएका व्यक्तिको स्थिति र तिनका परिवारको न्यायको लागि स्थापित “बलपूर्वक वेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोग” को सुस्तता तथा राजनैतिक दलको उदासीनताप्रति यो संजाल गंभीर आपत्ति प्रकट गर्दछ ।
व्यक्ति स्वतन्त्रतापूर्वक जिउने, विचार अभिव्यक्ति प्रकट गर्न पाउने र अपराधमा तत्काल प्रचलित कानून बमोजिम वाहेक सजाँय नहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको व्यवस्था विपरीत विचार र आस्था फरक परेको आधारमा ब्यक्ति वेपत्ता पारिएको र वेपत्ता पार्ने दोषि उपर यतिका बर्षसम्म कुनै कारवाही नगरी पीडितलाई थकाउने, गलाउने र आफ्ना मुद्दाहरु नै छोड्न वाध्य पार्ने गम्भिर षड्यन्त्र भइरहेको कार्य नेपालको संविधान, कानून तथा अन्तराष्ट्रिय मानव अधिकार तथा मानविय कानून समेतको विपरित अक्षयम्य अपराध भएको यो संजाल स्मरण गराउँदछ ।
अत : १० बर्षे द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको स्थिति तुरुन्त पत्ता लगाई दोषी उपर कानूनी कारवाही गरी पीडितलाई न्याय परिपूरणको उचित व्यवस्था गरी दण्डहीनता अन्त्य र मानव अधिकारको सम्मान गर्न यो संजाल सरोकारवालाहरुलाई सचेत गर्दछ ।"