शुक्रबार, कार्तिक ७ गते २०८३

‘नेपालको राजनीतिमा राजतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा जसोतसो सत्ता हस्तान्तरणको लागि मात्र हुँदै आयो’


भाद्र ५, २०८० मंगलबार
‘नेपालको राजनीतिमा राजतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा जसोतसो सत्ता हस्तान्तरणको लागि मात्र हुँदै आयो’
नेपाली काँग्रेसका नेता प्रदीप गिरि (वि.स.२००४–२०७९), ज्ञानको भण्डार, लोकतान्त्रिक समाजवादका सिद्धान्तकार (Ideologue) र सत्ताको भोकरहित, आदर्शवादी राजनीतिका त्रिवेणी थिए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सदस्यको रूपमा संविधान लेखन कार्यमा सक्रिय भए पनि नेपालको संविधान २०७२ प्रति विमति राखेर त्यसमा समर्थनको हस्ताक्षर नगरेका एकमात्र काँग्रेस नेता पनि हुन् ।
 
जननायक बीपी कोइरालाका विचारधारा र लोकतान्त्रिक समाजवादका व्याख्याताको रुपमा उनी बेजोड नेता थिए । भारतीय समाजवादी नेताहरूसँग उनको राम्रो उठबस थियो । उनको भाषणकला (Oratory skill) ले सबैलाई मन्त्रमुग्ध बनाउँथ्यो । गत वर्ष कांग्रेसको १४ औं महाधिवेशन भएयता उनी काँग्रेसको केन्द्रीय समितिमा परेनन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटलाई जान्नेहरूका अनुसार, देउवाले विचारशत्रु कसैको रुचि र इच्छाको कदर गर्दै उनलाई पन्छाउँदै लगेका थिए । उल्लेखनीय के छ भने २०५९ मा काँग्रेस फुटाउँदा उनै देउवालाई साथ दिंदै प्रदीप गिरिले ‘बाध्यताको समर्थन’ दिएका थिए ।
 
पिता मित्रलाल गिरि (१९७६–२०४५) २०१२ सालमै नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य र आजीवन काँग्रेस भएको कारणले घरको वातावरण अनुरुप प्रदीप गिरि बाल्य उमेरदेखि राजनीतिमा संलग्न (२०१७) भए, जुन बेला उनी केवल १३ वर्षका थिए । २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एकवर्ष, सबै गिरफ्तारीमा जम्मा चारवर्ष जेल जीवन बिताए । सानै उमेरदेखि धर्मशास्त्रको आलोचनात्मक अध्ययनमा रुचि राखेका उनी समाजवादको ब्याख्याका क्रममा समेत धर्मशास्त्र वा पुराणका सन्दर्भलाई घतलाग्दो उपमा वा उदाहरणको रुपमा सजाउन पोख्त विशेषता थियो ।
 
बनारस (भारत) मा २०२४ सालमा स्थापित नेपाल छात्र सङ्घको निर्वाचित उपाध्यक्ष थिए उनी । सोही साल स्थापित प्रजातान्त्रिक समाजवादी युथ लिग (DSYL) को उपसभापति भए । २०५१ को संसदीय निर्वाचनमा सिरहा–५ बाट निर्वाचित गिरि २०५६ को संसदीय निर्वाचनमा पराजित भए । दुवै संविधानसभामा उनी समानुपातिक सभासदको रुपमा आए । २०७४ को संसदीय निर्वाचनमा उनी सिराहाबाटै विजयी भए ।
 
२०४० को दशकका ५-६ वर्ष मेरो उनीसँग घनिष्ठ सम्बन्ध रह्यो, जुन बेला उनको बसोबास पुतलीसडक पछाडि पञ्चायत प्लाजामा थियो । मेरो अध्ययनलाई गति दिनमा प्रदीपदाईको योगदान छ । उनीसँग पुरानो आत्मीयताकै कारण अघिपछि भेट हुँदा खुलस्त कुराकानी हुनपाउँथ्यो ।
 
खोटाङ् जिल्लाको सिमपानी बाटेस्वाँराबाट प्रदीपजीका जिज्युबाजे कुलदीप गिरि उदयपुरगढीमा आई त्यहाँ सेनाको सानोतिनो जागीरमा प्रवेश गरे । कुलदीपका पिता जयकृष्ण गिरि पनि उद्यमी थिए । कुलदीप करिब १५ वर्ष उदयपुरमा बस्दा इलामपछि दोस्रो चियाखेतीका जनक भए । सेनाको जागीरबाट निस्केपछि उनी ब्यापारमा लागे । ब्यापारबाट एकदमै मालामाल भएका कुलदीपलाई उदयपुर छोडाएर सिराहाको बस्तीपुरमा स्थायी बसोबास गरायो ।
 
बस्तीपुरमै पिता मित्रलाल र माता पूण्यप्रभाका प्रदीप र शेखर दुई छोरामध्ये जेठो छोराको रुपमा तिहारको गोबर्द्धन पूजाको दिन उनको जन्म भयो । नयाँदिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट प्रदीप गिरिले अर्थशास्त्र र दर्शनशास्त्रमा एम.ए. को पढाई पूरा गरे । पार्टीको लागि खटेर हिंड्दा विवाह गर्न नसकेका/नचाहेका— कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, शैलजा आचार्य, रामहरि जोशी, पी.एल. सिंह आदिको लामो सूचीमा प्रदीप गिरि पर्दथे ।
 
बीपी कोइरालाका लेख, अन्तर्वार्ता र भाषणहरूको विभिन्न पुस्तकाकार सँगालोहरूका साथै लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत उनका एक दर्जन जति पुस्तक प्रकाशित छन् । माथि उल्लेखित उनको विचार संसदमा दिएको भाषणको एक अंश हो ।
 
घाँटीको क्यान्सरले गर्दा मुम्बई लगायत भारतका विभिन्न स्थानमा उपचार गराएका प्रदीप गिरि स्वदेश फर्केको दुई दिनमै निमोनियाले पनि संक्रमित भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा यही भदौ ५ गते दुःखद निधन भयो ।
भावपूर्ण श्रद्धासुमन प्रदीप दाई ! हामी तपाईंलाई सदैव श्रद्धापूर्वक सम्झिरहने छौं ।