आइतबार, कार्तिक ९ गते २०८३

सरकारले स्थानिय तहको ६० प्रतिशत रकमलाइ निक्षेपमा गणना गर्न दिने 

भाद्र ४, २०८० सोमबार
सरकारले स्थानिय तहको ६० प्रतिशत रकमलाइ निक्षेपमा गणना गर्न  दिने 


सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले  स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न दिने निर्णय गरेका हुन् । मन्त्री महतले चैत मसान्तसम्म स्थानीय तहको रकमलाई निक्षेपमा गणना गर्न दिने व्यवस्था गरेका छन् । यसअघि सरकारले स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न दिएको थियो । 

२०७९ साउन २ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भएको भन्दै स्थानीय तहको ५० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्ने सुविधालाई ८० प्रतिशत पुर्‍याएका थिए । उक्त सुविधा पुस मसान्तसम्म दिइएको थियो । शर्माले फेरि पुस ८ गते मन्त्रीस्तरीय निर्णय गर्दै असार मसान्तसम्म स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न मिल्ने सुविधा दिएका थिए । 

असारमा बैंक वित्तीय संस्थामा अधिक तरलता भएको भन्दै रिभर्स रिपो जारी गर्नुपरेपछि अर्थ मन्त्रालयले असार मसान्तपछि स्थानीय तहको रकमलाई निक्षेपमा गणना गर्ने मिल्ने समय थप गरेको थिएन । तर, बैंक वित्तीय संस्थाको निक्षेप खोसाखोस बढ्दा निक्षेपको ब्याज बढेपछि अर्थमन्त्री महतले चैत मसान्तसम्म स्थानीय तहको ६० प्रतिशत निक्षेप गणना गर्न मिल्ने निर्णय गरेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । वाणिज्य बैंकहरूले भने स्थानीय तहको १०० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउनुपर्ने माग गरेका थिए ।