शनिबार, आश्विन १७ गते २०८३

नया  समाजको खोजी किन ?


भाद्र ४, २०८० सोमबार
नया  समाजको खोजी किन ?

       मानब समाजको इतिहासदेखि अहिलेसम्म यसलाई हेर्दा र केलाउँदा आजसम्मको समाज मूलतः दुःखले भरिएको समाज छ । त्यसको जग नै दुःखको छ । त्यसको आधार नै दुःखको छ । किनभने समाजमा असमानता, बिभेद, गरीबी, अभाव, असुरक्षा र अनिश्चितता ब्याप्त छ । समाज र प्रकृतिलाई दोहन गरेर अकूत सम्पत्ति थुपार्ने मुठ्ठीभर मानिसहरु एकातिर र सामाजिक र प्राकृतिक श्रोत साधनबाट बञ्चित बहिष्कृत  बहुसँंख्यक मानिसहरु अर्कातिर हुनजाँदा मानब  समाज दुःखी हुने स्थिति बन्दछ । अनि त्यो समाजमा सम्पत्तिबान र सम्पत्तिहीनहरुका बीचमा संघर्ष चल्छ नै । अनि त्यस क्रममा  हिंसा हुन्छ । किनभने दुःखी मानिस दुःखकष्टबाट मुक्त हुन र सम्पन्न मानिस सम्पत्ति जोगाउन  हिंसामा उतारु हुने स्थिति पैदा हुन्छ । यसले स्पष्ट हुन्छ कि समाज जत्ति बढी दुःखी हुनेछ त्यत्ति नै क्रोधी मानिसहरु पनि बढ्ने छन् । युद्ध हुनेछ, । वास्तवमा दुःख नै सबै यस्ता कुराको मूल कारक र उद्गम हो । यदि नयाँ समाजलाई जन्माउने या पैदा  गर्ने हो भने निश्चय नै दुःखका कारणहरुलाई हटाएर सुखका आधारहरु त्यसको जगमा राख्नै पर्दछ ।

       मानिसको जीवनको सारा  संघर्ष दुःखकष्टबाट उन्मुक्ति र शतत सुखका निमित्त हो । सुखलाई सहज र स्वभाविक तुल्याउनका निमित्त हो  । तर त्यसो भइरहेको हुँदैन, छैन । मानिस असफल भइरहेको हुन्छ । त्यसले गर्दा मानिस र मानब समाजले अनेक  दुःख कष्टको अनुभव गर्दछ । सुखलाई आफ्नो  स्वामित्वमा लिन सक्तैन । त्यसैले समाजलाई प्रेममय, शान्तमय, स्वाभाविक तुल्याउनका निम्ति यसभित्र रहेका असमानता, बिभेद, बिकृति र बिसंगतिहरुलाई तोड्न र चिर्न सक्नु र सिक्नु पर्दछ । यस्ता बिसंगत कुराहरुलाई एक वा अर्कोरुपमा कायम राखेर समाजलाई स्वच्छ, सभ्य, सौम्य र शान्त तुल्याउन सकिने छैन ।  त्यसैले यी बिसंगति र बिकृतिहरू समाजका, मानिसका र प्रकृति समेतका निम्ति अस्वीकार्य र अमान्य कुरा हुन् । तिनका बिरुद्ध निर्मम संघर्ष चलाउनै पर्दछ ।

      यो हामी बसेकाे ग्रह अर्थात् पृथ्वी सारा मानब समाज, जीबजन्तु अर्थात् प्राणी र बनस्पतिको साझा घर हो । यसलाई बैज्ञानिक र सही किसिलमे बुझेर चल्न सिकिएन र त्यसाे गर्न सकिएन भने युद्ध, अशान्ति, झैझगडा र संघर्षहरु चल्ने कुरा निश्चित छ । त्यसैले आज सामुहीकरुपमा सबैले मानब मैत्री, प्रकृति मैत्री र भबिष्य मैत्री बिकासको  फराकिलो बाटो रोज्नु र खोज्नु पर्ने अपूर्ब आवश्यकता छ । यस यथार्थ वास्तकिता र आवश्यकतालाई आत्मबोध र आत्मसात गरेर अघि बढ्न खोजेमा मात्र सही परिणति ल्याउन सकिनेछ । अन्यथा थप चुनौति र जटीलता थप्ने काम बाहेक अरु केही हुनेवाला छैन ।