शहबाज खान/ कपिलवस्तु कपिलवस्तुको कृष्णनगर नगरपालिका –१ बस्ने वर्ष ३३ का मुकेश कोरीले आफ्नो बुवाको हत्या गरेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार छोराले बुवाको हात बाँधेर पोखरीमा डुबाएर बुवाको हत्या गरेकोे प्रहरीको अनुसन्धानबाट खुलेको छ । छोराले घरायसी विवादका कारण बुवाको हत्या भएको खुलेको बताइएको छ ।
प्रहरीले जिल्ला अदालत कपिलवस्तुको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको जनाएको छ । गत असार २४ गते साँझ देखि हराएका ५५ बर्षीय गत असार २६ गते बिहान ६ बजेको समयमा राम फेरे कोरी बढैया स्थित घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । मृत फेला परेका राम फेरे कोरीको दुबै हात पहेँलो गम्छाले बाँधेको अवस्थामा पोखरीको बिचमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेपछि शंकास्पद मृत्यु देखेर प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो । घटना भएको ७ दिनपछि श्रावण ३ गते हत्याको आशंकामा मृतकका झट्केला छोरा ३३ वर्षीय मुकेश कोरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो ।
कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले अनुसन्धानको २५औँ दिनमा जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दर्ता भएको जानकारी दिए । दिनहुँ जसो मदिरा सेवन गर्ने, घरायसी विवादमा झगडा परिरहने हुँदा मृतक र अभियुक्त बिच मनमुटाव भइरहने गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए ।