शुक्रबार, कार्तिक ७ गते २०८३

भारतको स्वतन्त्रता र संविधानका अनौठा तथ्य


भाद्र २, २०८० शनिबार
भारतको स्वतन्त्रता र संविधानका अनौठा तथ्य

तपाईंलाई पनि काम लाग्ला कि भन्ठानेर !

भारत र पाकिस्तानले स्वतन्त्रता पाएको अघि र पछि होइन १५ अगस्ट मध्यरात हो । तर अन्तिम ब्रिटिश भाईसराय लर्ड माउन्टबेटनलाई सत्ता हस्तान्तरण प्रक्रियामा दुवै मुलुकका कार्यक्रम भ्याउने अनुकूलताको लागि मात्र पाकिस्तानलाई अघिल्लै दिन १४ अगस्ट पाकिस्तानको स्वतन्त्रता दिवस मानिएको हो ।

भारतको संविधानसभामा गान्धीको सहभागिता थिएन । स्वतन्त्रता दिवसको अवसरमा महात्मा गान्धी कलकत्तामा हुनुहुन्थ्यो । भारत विभाजन र पूर्वी पाकिस्तानको उदयका बेला कलकत्तामा भड्केको हिन्दु–मुसलमान दङ्गा र उत्तर भारतभरि आतंकको लहर साम्य पार्ने चेष्टामा ।

भारतको स्वतन्त्रता अहिंसात्मक आन्दोलनबाट भए पनि स्वतन्त्रतासँगै भएको बिखण्डन नरसंहार र रक्तपात संसारकै सबभन्दा भयावह हिंसा थियो । स्वतन्त्रता र विभाजन जुम्ल्याहा परिणाम । १९५१ को जनगणनामा विभिन्न हिसाब र तथ्याङ्कबाट देखिन्छ ३२ लाख मानिसहरू विभाजन र बसाईसराईको क्रममा आजसम्म हराईरहेका छन् । त्यसअघि दुवै मुलुकमा भएका दङ्गाहरूमा मारिनेको संख्या बेग्लै छ ।

स्वतन्त्रता आन्दोलनताका विद्यार्थीको रुपमा कलकत्तामै रहेका, नेपाली काँग्रेसका संस्थापक नेता रामहरि जोशी आफ्नो संस्मरणमा लेख्नुहुन्छ, “....कम्युनिस्ट पार्टीको नारा अलि बेग्लै खालको थियो– “यह आजादी झूठी है, भूलो मत, भूलो मत, जेनरल बेवेल गुण्डा है, भूलो मत, भूलो मत ।” यो उही कम्युनिस्ट पार्टी थियो, जो सन् १९४२ को ‘भारत छोड्’ आन्दोलनको विरोधी र ब्रिटिश साम्राज्यवादको समर्थक थियो” (जोशी : ‘आत्मकथा तथा नेपाली काँग्रेससँग गाँसिएका सम्झनाहरू’ पृ. ११–१२) ।

कम्युनिस्टहरूले स्वतन्त्रता विरोधी लाईन लिनुको नियत थियो, जर्मनीका बिरुद्ध सोभियत संघका शासक स्तालिन, बेलायतका प्रधानमन्त्री विन्स्टन् चर्चिल र अमेरिकी राष्ट्रपति रुजवेल्टको तेहरान सम्झौता (१९४३) ले गराएको गठबन्धन ।

भारतीय संविधानसभाको पहिलो बैठक ९ दिसम्बर १९४६ मा भयो स्वतन्त्रता सुनिश्चितको खुशीयाली र अवश्यम्भावी विभाजनको पीडाका बीच ।

अम्बेडकरबाहेक काँग्रेसका चार पहलवान्हरू जवाहरलाल नेहरू, बल्लभभाई पटेल, राजेन्द्र प्रसाद र अब्दुल कलाम आजाद संविधान मस्यौदाका प्रभुत्वशाली खेलाडी थिए ।

सन् १९४५ मा सीमित मताधिकारका साथ सम्पन्न प्रान्तीय निर्वाचनमा २८ प्रतिशतभन्दा केही बढी जनसंख्या मात्र सहभागी भएको थियो । काँग्रेस पार्टीबाट संविधानसभामा ८० प्रतिशत सदस्यहरू थिए ।

संविधान लेखनमा योगदान पुर्याउन सक्ने मानी केही महत्वपूर्ण तर स्वतन्त्र ब्यक्तित्वहरू स्वयं अम्बेडकरको नामंबाट शुरू भएको यो सूचिमा ए.के.अय्यर, एच. एन. कुन्ज्रु, एन्. जी. अयङ्गर, के. सन्थनाम्, एम. आर. जयकर, सचिदानन्द सिन्हा, श्यामाप्रसाद मुखर्जी र के.एम. मुन्शी पनि निर्वाचित भएका थिए ।

संविधानसभामा भएका जम्मा १६५ बैठकमध्ये ११४ बैठक, मस्यौदा संविधानमाथि छलफल गर्नमा खर्च भयो । करिब २५०० संशोधन प्रस्ताबहरूको पनि टुङ्गो लगाउनु परेको थियो । नेपालको संविधानसभाले ७ वर्ष लगाईदियो । अमेरिकी सम्मेलनले आफ्नो काम चारमहिनामै सिध्याएको थियो । अस्ट्रेलियाली संवैधानिक सम्मेलनले नौ वर्ष र क्यानाडाले दुईवर्षभन्दा बढी समय लिएको लगायत अन्य मुलुकहरूमा भारतमा भन्दा पनि बढी समयावधि लागेको थियो ।

बहसहरू प्रायः उच्चकोटीकै हुनेगर्थे । त्यसो त संविधानमा दस्तखत गर्ने २८४ सभासदमध्ये एक सभासदले संविधानलाई ‘पश्चिमसमक्ष दासत्वपूर्ण आत्मसमर्पण’ भन्ने संज्ञा दिएका थिए भने अर्कालेचाहिँ “हामीले यसमा वीणा वा सितारको संगीत चाहेका थियौँ तर यहाँ अँग्रेजी ब्याण्डको धून पाइयो’ भने ।

भारतीय संविधानसभामा २९९ सभासद थिए, जसमध्ये २८४ जनाले अन्तिम दस्तावेजमा दस्तखत गरे । संविधानको मस्यौदा तयार गर्न तथा अपनाउन दुई वर्ष ११ महिना लागेको थियो ।

साभार : गाैतमजीकाे मुहारपुस्तिका