बुधबार, भाद्र ३ गते २०८३

गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

भाद्र १, २०८० शुक्रबार
गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

 

गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर, पानी पोखरी, काठमाडौँमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो ।

इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले  नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए ।  

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको  राजदूतको  आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ । 

इन्डोनेसिया आसियान राष्ट्रहरु मध्येको ठुलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ । दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् । झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।