शनिबार, आश्विन १७ गते २०८३

‘पर्यटन, आइटी, हाइड्रो र कृषिमा स्कोप छ, युवाले अवसर पहिल्याउनुपर्छ’ : अर्थमन्त्री


श्रावण ३१, २०८० बुधबार
‘पर्यटन, आइटी, हाइड्रो र कृषिमा स्कोप छ, युवाले अवसर पहिल्याउनुपर्छ’ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको ‘उद्यमशील युवा सृजनशील युवा’ बिषयक अन्तर्क्रियामा बोल्दै मन्त्री डा. महतले भने, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहिँयो ।’ 

‘विदेश जानेबत्तििकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्छ । यहाँ अवसर अथाह छ, त्यसको उपयोग गर्नुपर्छ । त्यसको खोजीमा आजका हाम्रा युवा लाग्नुपर्छ, उनले भने । 

‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’ मन्त्री महतले भने, ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’

‘हामीकहाँ अवसर खोज्दा हट मेन्टालिटी छ । एउटाले अवसर देख्यो, फाइदा उठायो, म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन्’ मन्त्री डा. महतले भने,  ‘त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ । हरेक व्यक्ति केही न केही क्षमता लिएर जन्मेका छन् । सबैको सम्पूर्ण कुरामा क्षमता हुँदैन । पहिला आफ्नो क्षमता पहिचान गर्नुपर्छ, त्यो क्षमताको परिधिभित्र के गर्न सकिन्छ ? त्यो अवसर लिन म अनुरोध गर्छु।’ 

सूचना प्रविधिको स्पेसमा हामी छौं, जसले गर्दा हाम्रो देशमा अवसर पनि छ । हिजो त्यो अवसर थिएन, भूपरिवेष्ठित देशमा छौं, हरेक उत्पादन कसरी विदेशमा लैजाने, समुन्द्र पार कसरी पुर्याउनेलगायतका समस्या छन्’ मन्त्री  महतले भने,‘प्रविधिले गर्दा मार्केटिङ सजिलो भएको छ । डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ । शुन्य लागतमा बेच्ने ठाउँमा पनि तपाईं जोडिन सक्नुहुन्छ । यो हाम्रा लागि अवसर हो ।’

नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोगजारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकरात्मक कुरा गर्छन् । सामाजिक सञ्जालमा नकारात्मक कुरा धेरै चल्छ । सकारात्मक कुराहरु यसरी सर्कुलेट हुँदैन भन्दै मन्त्री महतले अब नयाँ पोजेटिभ नेशनल डिस्कोर्स सुरु गर्नुपर्ने औंल्याए । जस्तो पर्यटन उद्योग चलायमान बन्दै गएको छ । यसले धेरै अवसरहरु सिर्जना गर्छ । पर्यटन, आइटी, हाइड्रो र कृषिको नेपालमा धेरै स्कोप छ । 

जो बाहिर गएर स्किल लिएर फर्किन्छ, उनीहरुलाई सरकार प्रोत्साहन गर्न चाहन्छ । जति फर्किएका छन्, उनीहरुले गरेको कृषि उद्योग यहाँ लोकप्रिय बन्दैछ । यसमा धेरै अवसर छ, बजार स्वदेश र विदेशमा छ । 

विदेश गएर पढ्न चाहनेको लागि पनि सहज नभएको त्यहाँबाट न निस्कन सकिन्छ, न छोड्न सकिने अवस्था रहेको भन्दै स्वदेशमै भएका अवसरहरुको सदुपयोग गर्न उनले सुझाए ।