काठमाण्डौ महानगरपालिकाले कक्षा ११ र १२ मा विद्यार्थी भर्ना लिने शिक्षण संस्थाले छात्रवृत्ति पाएका विद्यार्थीसँग कुनैपनि प्रकारको शुल्क लिन नपाइने सूचना जारी गरेको छ ।
कतिपय विद्यालयले छात्रवृत्तिमा अध्ययनका लागि छनोट भएका विद्यार्थीसँग भर्ना शुल्क माग गरिएको गुनासो महानगरपालिकालाई आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । महानगरले २०८० साउन २० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सिफारिस गरी पठाएको थियो ।
“छात्रवृत्ति भन्नाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी रकम, ल्याव वा पुस्तकालय शुल्क तिर्न नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था गरेको” सम्झनुपर्ने सूचनामा उल्लेख छ ।
