शुक्रबार, कार्तिक ७ गते २०८३

कृति समीक्षाः सोभियत संघ स्थापना र विघटनबारे बुझ्न ‘मेरा सोभियत सम्झनाहरु’

श्रावण २८, २०८० आइतबार
कृति समीक्षाः सोभियत संघ स्थापना र विघटनबारे बुझ्न ‘मेरा सोभियत सम्झनाहरु’

 

rambahadur.jpg
इञ्जिनियर रामबिन्दु श्रेष्ठले पाठकसामु मेरा सोभियत सम्झनाहरु नामक संस्मरण कृति ल्याउनुभएको छ । आफू जन्मे हुर्केको ठाउँ बिकट पहाडी जिल्ला बाग्लुङको सेरोफेरो, बाल्यकालीन अवस्थामा हुर्कदा, बढ्दा र पढ्दादेखि उच्च शिक्षा अध्ययनको सिलसिलामा बाग्लुङदेखि काठमाडांैसम्म र काठमाडौंदेखि सोभियत रुससम्म पुगी त्यहाँ रहँदा बस्दा र पढ्दाका आफ्ना अनुभूति र ब्यहोरेका तमाम हण्डर ठक्कर र सफलताका किस्सालाई मेरा सोभियत सम्झनाहरु संस्मरण प्रकाशन गर्नु भएको छ । विशेषत तत्कालीन सोभियत संघको स्थापना, शासन ब्यबस्था र त्यसको विघटन हुनाका कारणहरु बुझ्न चाहने इच्छुक पाठकका लागि लेखकको यो पुस्तक आँखिझ्याल र सन्दर्भ सामग्री हुनेमा कुनै शंका छैन ।

उच्च शिक्षाको पढाइको सिलसिलामा सन् १९८५ मा २१ वर्षको उमेरमा नेपाल छाडेका उहाँ छ वर्ष सोभियत रुसमा रहनुभयो । लामो समय खोज, अध्ययन अनुसन्धानमा जुट्नुपर्ने एकातिर र अर्काेतिर घरपरिवार, आफन्त, इष्टमित्र, साथीसँगको अपनत्वबाट लामो समयसम्म बिछोडिनुको पिरलोलाई उहाँले संस्मरणमा कैद गर्नुभएको छ । काठमाडांै एअरपोर्टबाट दिल्ली हुँदै मस्को पुगेको भोलिपल्ट पुनः पट्यारलाग्दो लामो रेल यात्राको असहजता, चार दिनपछि थकित र गलित अवस्थामा आफू पढ्ने एरेभानको विश्वविद्यालय पुग्दा त्यहाँ अध्ययनरत नेपालीहरुले देखाएको आत्मीय व्यबहारले पैदा गरेको स्फूर्ति र ताजगिपन, शुरुको एक वर्ष भाषासिकाइ तथा अध्ययन वर्षको रुपमा रहने यस समय आफू शिशु कक्षाको विद्यार्थीमा बदलिएको, बिरानो ठाउँमा अपरिचित मान्छेहरुसँग उठबस, भाषा अज्ञानताको कारण खुल्न नसक्दाको क्षण, घरपरिवार इष्टमित्र साथीसंगी हुर्किखेलेको ठाउँको यादले पटक–पटक सताएको झझल्को अनुभूतिलाई पनि लेखकले पुस्तकमा समेट्नु भएको छ ।

रुसी भाषा पढाउने शिक्षिका आर्पिक ओमेतोभ्नाखच्यातुर्यान ७० बर्षको उमेरमा पेन्सन पाकिसकेर पनि घरमा बस्नु भन्दा सक्रिय जीवनलाई निरन्तरता दिन अध्यापन जारी राखेकी र उहाँमार्फत नै लेखकले अक्टोबर क्रान्तिदेखि लेनिनकाल, स्टालिनकाल, ख्रुश्चेभकाल, ब्रेझनेभकाल, प्रेस्त्रोइकाको अवस्था, दोस्रो बिश्व युद्धमा सोभियत जनताले ब्यहोरेको सास्ती र नाजी आक्रमणकारी बिरुद्ध गरेको देशभक्तिपूर्ण प्रतिकार आन्दोलन गाथा, सन् १९८७ मा लेनिनले सजाय स्वरुप पूर्वी साइबेरियामा ३ वर्षको समय ब्यतित गर्दा साहित्य, कला, दर्शनमा पु¥याएको योगदानको चर्चा, भाषा शिक्षिका आर्पिकको मुखबाट सुनेसँगै ती विचारणीय र मननयोग्य कुराहरू मनमा सिमेन्टेड बनेर गढेको प्रसङ्गलाई पनि पुस्तकमा समेटिएको छ ।

त्यसैगरी पुस्तकमा लेखकले रुसमा गाईको मासुलाइ मिठो परिकारका रुपमा लिइने र आफूहरुको मेसमा समेत पकवानको रुपमा तयार पारिने भएकोले एक वर्षसम्म गौमांस नखाएको, भान्सामा गौमांस पाकिरहँदा त्यस क्षण घरको काली बाच्छी र कैली गाईको सम्झनाले सताएको, रुम पार्टनर स्याङ्जाका इन्द्रप्रसाद चापागाईंको शान्त, मिलनसार, स्नेही र धैर्य व्यबहारबाट आफूले धेरै कुरा सिक्न पाएको रोचक अनुभूति पनि बाँड्नु भएको छ । त्यसैगरी पुस्तकमा होस्टेल जीवनमा लाओस, भियतनाम, अफगानिस्तान, श्रीलंका, सिरिया, जोर्डन आदि देशका बिद्यार्थीहरुसँगको संसर्गले अन्तर्रास्ट्रिय परिस्थिति एवं त्यहाँको रहनसहन, नेपालको विभिन्न भूगोल, संस्कृति उमेरका साथीहरूसँगको अन्तत्र्रिmयाले धेरै कुरा सिक्ने अवसर जुरेको प्रसङ्गलाई पनि पुस्तकमा चर्चा गरिएको छ।

त्यसैगरी पुस्तकमा लेखकले सोभियत मुलुकमा पहिलो वर्षका नवागन्तुक विदेशी विद्यार्थीहरुलाई न्यानो कपडा किनिदिने चलन रहेकोे तर नेपालीहरु पुड्का र होचो काँठीका हुने हुँदा तेह्र वर्ष मुनिका सोभियत किशोर किशोरीहरुको शरीरमा फिट हुने कपडा नापजाँच गर्नुपर्ने अवस्था आइलाग्ने रोचक प्रसङ्ग पनि समेट्नु भएको छ । त्यसैगरी पुस्तकमा सोभियत विश्वविद्यालय र इन्स्टिच्युटमा अध्ययनरत विदेशी विद्यार्थीहरुले बिदाको समयलाई सदुपयोग गर्दै युरोपका विभिन्न शहरको यात्रा तय गर्ने र त्यहाँ उत्पादित सस्ता र आकर्षक सामान खरिद गरी रुसमा ल्याई बिक्री गरी त्यसबाट भएको आम्दानीले घुमघाम, मिठो मसिनो खाने, मनोरञ्जन गर्नुको साथै घर जाँदा, आउँदाको टिकटको पैसाको जोहो गर्ने गरेको पनि चर्चा गरिएको छ ।

सन् ३० र ४० को दशकमा नेपालका कम्युनिष्ट र वामपन्थी पार्टीहरुले सोभियत कम्युनिस्ट पार्टी संशोधनवादी, सामाजिक साम्राज्यवादी करार गरी विरोध गर्ने गरेको प्रसङ्ग कोट्याउँदै लेखकले उत्पादनका साधनहरुमाथि सामूहिक स्वामित्व, निशुल्क शिक्षा,निशुल्क आवास, निशुल्क स्वास्थ्य उपचार, रोजगारको पूर्ण ग्यारेन्टी, सुरक्षाको भरपर्दाे अवस्था, प्रसव तथा सुत्केरी खर्चको प्रबन्धको ब्यवस्था रहँदा रहँदै पनि नेपालका बामपंथी र कम्युनिस्ट पार्टीहरुले संशोधनवादी, साम्राज्यवादी, पूँजीवादीबाट आरोपित गर्दछन् भने आखिर समाजवाद भनेको के रहेछ ? नेपालका कम्युनिस्ट पार्टीहरुले यो भन्दा कुन त्यस्तो उत्तम र उन्नत समाज ब्यवस्था चाहेका होलान् भनेर प्रश्न उठाउनुभएको छ ।

विद्यार्थी राजनीतिको प्रसङ्गमा लेखकले हिजोको समयमा विद्यार्थीहरु मुद्दा केन्द्रित छलफल गर्न रुचाउने, बौद्धिक विमर्शमा जुट्न आह्वान गर्ने, नीतिथिति, रीति र पद्धतिलाई अवलम्बन गर्ने, सैद्धान्तिकि, वैचारिकी र दार्शनिकीमा स्पष्ट र सुझबुझ भएका, आफैमा अध्ययनशील जुझारु र आलोचनात्मक चेतका आफ्नो माउ पार्टीले गलत काम गरेमा नेतृत्वको गलत रवैयाविरुद्ध सच्चिन र सच्याउन आह्वान गर्ने गरेको तर आजकल केवल आफू सम्बद्ध पार्टी र मुख्य नेतृत्वले जति सुकै गलत क्रियाकलाप गरे पनि चुँ नबोल्ने, मूक र निरीह हुने, विद्यार्थी राजनीति भन्दा ठेक्कापट्टा, बालुवा, डोजर, माफिया र तस्करहरुसँग गलत साँठगाँठ, चन्दा असुली, विचौलिया धन्धामा लिप्त हुने र नेतृत्वलाई अनावश्यक दबाब दिने हुल्लड र स्वाँठहरूको जमातहरु बढ्नु गम्भीर चिन्ताको विषय हो भन्दै लेखकले दुखेसो व्यक्त गरेका छन् ।

यसैगरी पुस्तकमा दोस्रो युद्धपछि ध्वस्त भएका संरचनाहरु सफा गर्ने क्रममा एक अज्ञात सोभियत सेनाले एउटा भित्तामा ‘म मर्दैछु तर आत्मसमर्पण गर्दिनँ, अलबिदा मातृभूमि’भन्दै लेखेको हस्ताक्षर पूर्वीजर्मनीले फासिष्ट बिरोधी सुरक्षा पर्खाल र पश्चिम जर्मनीले अपमानको पर्खालको रुपमा अथ्र्याएको सन् १९६१ मा निर्माण भएको १५५ किमि लम्बाई भएको चर्चित बर्लिन पर्खालबारे पनि चर्चा गरिएको छ । पुस्तकमा रेड स्क्वायरस्थित सोभियत नेता लेनिनको पार्थीव शरीरलाई जतनसाथ राखिएको समाधिस्थल, २५० भन्दा बढी सोभियत युगका दरबार, मन्डप, फोहरा, भोस्टाक रकेट, सोभियत विमानहरु, स्टालिनको समयमा निर्माण थालिएको औद्योगिक, इन्जिनियरिङ, अन्तरिक्ष, आणविक, उर्जा, शिक्षा, सोभियत संस्कृति, किसान र मजदुर जोडिएको प्रतिष्ठित मूर्ति, सन् १९५७ मा सम्पन्न विश्व मेलाको लागि भेरा मुखरिनद्वारा डिजाइन गरिएको मूर्तिकला, मानव सभ्यताको अविश्वसनीय कला र समग्रमा रेड स्क्वायर विश्वमै अद्वितीय सुन्दर वास्तुकला, कौशल र सांस्कृतिक विविधताले भरिएको अनुपम दृश्यहरु दृश्यावलोक्न गरेको क्षणलाई पनि लेखकले विशेष महत्वका साथ स्थान दिनुभएको छ ।

त्यसैगरी पुस्तकमा सोभियत नेता स्टालिनले आफ्नो सोचलाई जीवन व्यवहारमा ल्याउन उत्कृष्ट डिजाइनरहरु र वास्तुकारलाई निम्त्याएको जसको फलस्वरुप सन् १९३० को दशकमा सोभियत संघले हासिल गरेको अभूतपूर्व औद्योगिकरणको शीर्ष उपलब्धिमध्ये एक रहेकोे भन्दै मेट्रो स्टेशन र यातायात प्रणाली सुदृढ हुनाको कारण र पृष्ठभूमिबारे चर्चा गरिएको छ । पुस्तकमा बिदाको समयलाई सदुपयोग गर्दै युरोपियन देशका विभिन्न शहरहरु घुम्ने क्रममा त्यहाँको बास्तुकला, कला कौशल, सूचना तथा सञ्चार, विज्ञान तथा प्रविधिमा भएको विकास, सामुन्द्रिक किनारका रोमाञ्चक दृश्यहरु, प्राकृतिक सौन्दर्यताका विविध पक्षहरु, मानिसहरूको चालचलन, रहनसहन, भाषा संस्कृतिका विभिन्न पाटाहरु र यात्राको क्रममा भोगेका हन्डर ठक्करका बृतान्तबारे पनि चर्चा गर्ने कोसिस गरिएको छ ।

सोभियतकालमा युवाहरू उमेर पुग्ने बित्तिकै अनिवार्य सैन्य सेवामा जानुपर्ने र यसलाई मातृभूमिप्रति र देशभक्तिको दायित्व सम्झी खुशीमनका साथ दुई वर्ष सैन्य सेवा गरे पश्चात् पुनः पढाई चालु राख्ने गरेको, सोभियत परीक्षा प्रणाली नेपालमा जस्तो सबै परीक्षार्थीहरुको लागि एकनासको प्रश्न पत्र नभई जति जना विद्यार्थी छन् सबैको लागि छुट्टाछुट्टै र अलगअलग रुपमा किताव भरिका पाठहरुको प्रश्नपत्र बनाएर राखिने हुँदा एकले अर्काको उत्तर नक्कल गर्ने सम्भावना शून्य रहने, उत्तर पुस्तिका बोकेर प्रोफेसरको सामुन्ने संबादमा जुट्नुपर्ने विद्यार्थीको मूल्याकंन त्यसैबाट हुने, शिक्षकले तत्काल प्राप्तांक र ग्रेड चढाइदिने हुँदा नेपालमा जस्तो रिजल्टका लागि महिनौ कुर्न नपर्ने स्थिति र परिपाटीबारेमा पनि पुस्तकमा चर्चा गरिएको छ ।

लेखकले सन् १९१७ देखि १९४५ का विभिन्न कालखण्डमा सोभियत भूमिमा त्यहाँका जनताले बगाएको पसिना, मिहिनेत, हिटलरको नेतृत्वका फासिष्ट नाजी सैनिकहरुको आततायी बमवारी आक्रमणका बिरुद्ध सोभियत नेता स्टालिनको नेतृत्वमा देशभक्तिपूर्ण आन्दोलन, सौर्य, वीरता, बलिदानी, रगत र पसिनाले सिंचित एकीकृत, एकमना बलियो र सुदृढ सोभियत गणराज्य जहाँ प्रत्येक नागरिक भोलिको लागि निश्चिन्त भएर जन्मने मुलुक कसरी अनिश्चियको भुमरीमा तुवाँलियो ? विघटन हुनाको कारण पहिल्याउने प्रयास गर्नुभएको छ । जसमा परम्परागत समाजवादी अवधारणा अनुसार उत्पादनका स्रोत र साधनमाथि सामूहिक स्वामित्वलाई समाजवादको आर्थिक आधार मानिएता पनि समयक्रममा सोभियत राज्यको सम्पत्तिमाथि जनताको नियन्त्रण दिनानुदिन कमजोर बन्दै गएको, विज्ञान र अन्तरीक्षमा श्रेष्ठता हासिल गरे पनि कालान्तरमा उत्पादनहरु बिश्व बजारको प्रतिस्पर्धामा उत्रिने गरी परिमार्जन हुन नसक्नु, प्रतिरक्षा प्रविधितर्फ विश्व महाशक्तिमा परिणत देशमा नयाँ सोच सहित प्रत्यक्ष उपभोग्य वस्तुहरुको उत्पादनमा नवीनतम मोडेलहरुको विकास हुन नसक्नु, अक्टोबर क्रान्ति, नयाँ ब्यवस्थाको प्रतिरक्षा, नयाँ आर्थिक क्रान्ति, देशब्यापी विद्युतीकरण, कृषिक्रान्ति, औद्योगिकरण, दोस्रो विश्वयुद्धपछिको पुननिर्माण र अन्तरीक्षसम्मको यात्रा थपिएकोमा त्यसले निरन्तरता नपाउनु रहेको उहाँको बुझाइ छ ।

त्यस्तै सामूहिक स्वामित्वमा अपनत्वभाव पैदा गर्न नसक्दा मान्छेको निजात्मक चाह, जिन्दगी, स्वत्वको अर्थ र मनोविज्ञानलाई बुझ्न कन्जुस्याइँ गर्नु, समाजवादमा मान्छेलाई उत्प्रेरित गर्ने संयन्त्र कसरी चुस्त दुरुस्त राख्ने भन्ने कुरा ठूलो चुनौतीको विषय बन्नु, सामाजिक अन्तरविरोधको सही परिचालन र समयानुकूल परिमार्जनको रिक्तता, हतियारको दौडमा ठूलो खर्च, असन्तुलित बजार, जातीय द्वन्द्व र अन्य समस्याका कारण सन् १९०० को उत्तराद्र्धसम्म आर्थिक र राजनीतिक संकट चुलिदा सन् १९८८ देखि १९९१ सम्म केन्द्र र गणतन्त्र संघबीच संवैधानिक द्वन्द्वहरुको परिणाम स्वरुप सोभियत संघ विघटनको चरणमा पुगेको हुनसक्ने लेखकको बुझाइ रहेको छ ।

पुस्तकमा सोभियत संघ विघटनको चरणमा पुगेपछि त्यहाँ झांगिएको अराजकता, अब्यवस्था, अमानवीयता, अस्तब्यस्तता, असुविधा, असुरक्षा, अशान्त स्थिति, मुद्रास्फीति इत्यादिले गर्दा जनताको दैनिकीमा परेको अवस्था र कष्टकर जीवनका विभिन्न आयामलाई पनि लेखकले संस्मरण नियात्रामा समेट्ने प्रयास गर्नुभएको छ । लेखकले दोस्रो विश्वयुद्धमा सोभियत संघमा १७१० शहर, ७० हजार भन्दा बढी गाउँ, करिब ३२ हजार औद्योगिक प्रतिष्ठान ध्वस्त भएका ९८ हजार सामूहिक फार्म, १८७६ राज्य फार्म र २८९० मेसिन तथा ट्याक्टर स्टेशनहरु नष्ट भएका र साढे दुई करोड भन्दा बढी मानवीय क्षति भएको त्यस अवस्थामा पनि दूरदर्शी योजना, स्पातिलो नेतृत्व, अदम्य साहस, अथक मिहिनेत र सामुहिक प्रयासले छिटो त्यो मुलुकको पुननिर्माण गरिएको र पुननिर्माणले अन्तरीक्षसम्मको यात्रा तय गरेको, योजनाबद्ध विकासको अवधारणाअनुरुप नै सोभियत संघले विश्वमा सबैभन्दा पहिले पञ्चवर्षीय योजना शुरु गरी यसको लक्ष्य हासिल गर्न दु्रतताका साथ औद्योगिकरण गरी सन् १९३० को मध्यमा जर्मनी ग्रेट ब्रिटेन र फ्रान्सलाई उछिन्दै सोभियत युनियनले युरोपमा शीर्ष र विश्वमा दोस्रो स्थान हाँसिल गर्न सकेको, सोभियत सत्ताले नै साधारण मानिसहरुलाई शिक्षा र उच्च संस्कृतिको लागि बाटो खोलिदिएको, सशुल्क बिदा, ८ घण्टे काम, निशुल्क आवास, निशुल्क औषधिउपचार, निशुल्क शिक्षा र सवैलाई रोजगारीको ब्यवस्था, विश्वमा सर्वप्रथम प्रसव र सुत्केरी बिदाको प्रबन्ध जस्ता सकारात्मक कदम र उपलब्धिबारे पनि लेखकले खुलेर प्रशंसा गर्नुभएको छ ।

पुस्तकमा हिँजो कुनै बेला रुसको भूमिमा विशेष अर्थ र महत्व बोकेका र त्यसले विश्व राजनीतिक आन्दोलनमा टेवा पु¥याई झक्झकाएका, जागरणको सन्देश बोकेका अक्टोबर क्रान्ति, मे दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, विजय दिवस, श्रमिक दिवसलाई विशेष चाडका रुपमा निकै धुमधाम साथ मनाउने गरिएकोमा आज मनाउन अनकनाउने र आलटाल गरिने प्रबृत्ति बढ्दै गएको, हिजो आफ्नो देशको विकास, समृद्धि, सुशासन, स्थिरताका लागि त्यो देशका नायक र अभिभावक लेनिन र स्टालिनको उच्च सम्मान र

श्रद्धा प्रकट गरी मृत्यु पश्चात् पनि सडक, गल्ली र चोकहरुमा शालिक र प्रतिमा ठड्याइ श्रद्धा स्वरुप शिर झुकाएका, लेनिनको समाधिस्थलसामु घन्टौं लाइन लागि सम्मान जाहेर गरेका, विदेशी पर्यटक भिœयाइ नेतृत्वको नेतृत्व कौशलता, दूरदृष्टि चेत र अभिभावकीय भूमिकाको गाथा गाउन, इतिहासको सही मूल्याकंन गर्न हौसिने त्यहाँको नेतृत्व र समाजले आज कसरी उनीहरुको भूमिकालाई कम आँक्दै र अवमूल्यन गर्दै श्रद्धापूर्वक बनाइएका शालिक र प्रतिमाहरु ढाली इतिहासप्रति निर्मम, कठोर, आग्रही अपमान र अनादरमा उत्रने कृतघ्न हर्कत गरेको छ भन्दै लेखक संवेदनशील र भावुक बन्नुभएको छ । समग्रमा पुस्तक पठनीय र संग्रहणीय छ ।

साभार : नयाँ युगबाेध अनलाइन राष्ट्रिय दैनिक

शनिबार, श्रावण २७, २०८०