आइतबार, कार्तिक ९ गते २०८३

१० अर्बको विकास ऋणपत्र  जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोल मार्फत निर्धारण हुने


श्रावण २६, २०८० शुक्रबार
१० अर्बको विकास ऋणपत्र    जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोल मार्फत निर्धारण हुने

 

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।  आज एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था गैर– बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा अन्य नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रका लागि खरिदकर्ताले आइतबार ३ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ ।

सोमबारदेखि निष्कासन गर्न लागेको उक्त ऋणपत्रको साँवा र ब्याज भुक्तानी २०८८ साउन २९ गते हुनेछ । उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजदरमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ अर्ब र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १ .५ अर्ब छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैंकले जनाएको छ ।

उक्त ऋणपत्र खरिदको सिमा लागि न्युनतम पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा रहेको छ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने बैंकले जनाएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर ( दशमलव पछाडि दुई अंक )सम्म मात्र उल्लेख गर्नु पर्नेछ ।