सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। चीनतर्फ उड्न लागेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले बताएका हुन्।
पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मा लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।
हङकङबाट आएको करीब १०० किलो सुन साउन ३ गते राजस्व अनुसन्धान विभागको टोली नियन्त्रणमा लिएको थियो। यसको अनुसन्धानको जिम्मा विभागले सीआईबीलाई दिएको छ। यो सुन तस्करी प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन्।