आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उलेख्य छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो । गत बर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले मात्र घटेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी गत बर्ष खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई रु.१०७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । गत आबमा चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ४८ करोड रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।
यस्तो छ कुल विदेशी विनिमय सञ्चिति
०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई गत असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत आबको असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई रु.१२४४ अर्ब ६३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७८ असार मसान्तमा १२.१ प्रतिशतले कमी आई रु.१५४ अर्ब ३९ करोड कायम भएको छ । गत असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.० प्रतिशत रहेको छ ।