शनिबार, आश्विन १७ गते २०८३

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य शाखा प्रमुख माथि मुद्दा दर्ता

श्रावण १६, २०८० मंगलबार
यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य शाखा प्रमुख माथि मुद्दा दर्ता


शहबाज खान/कपिलवस्तु 
कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखविरुद्ध महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । 
शिवराज नगरपालिकामा काम गर्ने महिला कर्मचारीले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गराएका हुन् । 

शुक्रवार १ बजे राति मदिरा सेवन गरी सहकर्मी महिला कर्मचारीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सीअहेब लेखनाथ पौडेलसहित उनका साथी भुवन पाण्डेयविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरीएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार मुद्दा दर्ता भएसँगै आरोपित पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । 
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लका अनुसार सोमबार अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । 
आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती दुईमाथि जाहेरी दिएपनि सोमबार मात्रै दर्ता भएको र आरोपित दुवैजना सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक मल्लले बताए ।