बिर्तामोड, झापा । बिर्तामोडका एक व्यवसायी पंकज अग्रवाल सर्वसाधारणको करोडौँ रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । बिर्तामोड–५ नम्बर वडास्थित बोलबम पेट्रोल पम्प नजिकै उनी व्यवसाय गर्दै आएका थिए ।
निकै लामो समयदेखि बिर्तामाेडमा पङ्कज भण्डार (चामल मन्डी) सञ्चालन गरेर झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रमा सामान पठाउँदै ठूलाे कारोबार गर्दै गरेका ती अग्रवालले केही समयको लागि काम चलाउन भन्दै विभिन्न मानिसबाट लिएको रकम ठगी गरी फरार भएको पाँचथरको हिलिहाङ गाउँपालिकाको जोरपोखरी बजारमा व्यवसाय गर्दै आएका पीडित लोकेन्द्र सुब्बाले बताएका छन्।
थाहा हुनआए अनुसारठगीमा परेका मानिसहरूमा इलामको देउमाई नगरपालिका–१ राँके निवासी गोविन्द लामिछाने र नेत्र लामिछाने, अग्रवालले बिर्तामोडमा गोदाम राखेका घर मालिक गणबहादुर तामाङ, बिर्तामोड निवासी प्रकाश बोहोरा, कुमार श्रेष्ठ, लोकेन्द्र बोहोरा, रञ्जिता लिम्बू रहेका छन् । त्यस्तै पाँचथरको कुम्मायक गाउँपालिकाका भीमविक्रम सम्बाहाम्फे, इलामको फाकफोकथुम गाउँपालिकाका युद्धबहादुर बोहोरा, टुन्नबहादुर निरौला, गणेशबहादुर निरौला, हिलिहाङ गाउँपालिका–३ गोपेटारका मेघराज कटुवाल(महेश), याङ्वरक गाउँपालिका थर्पु निवासी खेम न्यौपानेलगायत अन्य धेरैलाई दुई लाखदेखि ४० लाखसम्म प्रतिव्यक्ति सापटी लिएर बेपत्ता भएकाे बताइएकाे छ ।
फरार पंकजका हजुरबुबा तिलकचन्द अग्रवाल र बुबा प्रेमचन्द अग्रवालका छोरा वर्ष ४३का ती पङ्कज अग्रवालले साबिक अनारमनी–३ बिर्तामोड हालको बिर्तामोड नगरपालिका वडा नम्बर ५को स्थायीवासिन्दा भई झापाबाट ना.प्र.न. ०४–०१–६९–१०९५३ को नागरिकताको आधारमा विभिन्न बैंकमा खाता र पङ्कज भण्डार सञ्चालन गरेको प्रमाण पुष्टि भएको पनि उल्ले छ ।
यस सम्बन्धमाा पश्चिम बङ्गाल सिलगुडी नजिकै भारतको रायजञ्जमा भएको घरजग्गा बिक्री गरेर पैसा ल्याउने र दिने भन्दै अधिकांश व्यापारी, चामल मिल तथा अन्य मानिसलाई विभिन्न प्रलोभन देखाई उनले झुक्क्याएको पीडितहरूको गुनासाे रहेकाे छ ।
उनले कसैबाट बिना कागजात नगद रुपैयाँ, चेक, त कतिपयको अलैँची र चामल भाउ काट्नु भन्दै पैसा लिएका थिए । गएकाे असार १ गतेदेखि उनी सम्पर्कविहीन भएका हुन् । उनको पसल काम गर्ने कामदारलाई छोडेको र गोदाममा सामान पनि केही नभएको कामदार दिलीप उप्रेतीले बताएका छन् । एक/दुई महिना अघिसम्म उनले प्रयोग गर्दै आएको ९८१७९५३६०७ मोबाइल नम्बर उनका बुबा प्रेमचन्द अग्रवालले उठाउने गरेको र छोरा सिलगुडी गएको भन्दै बहाना बनाएर पीडितहरूलाई ढाँट्ने गरेकोले उक्त ठगीमा बुबाको समेत मिलेमतो भएको हुन सक्ने पीडितको दाबी छ । उनले प्रयोग गरेको फेसबुक आइडी पनि डिएक्टीभेट गरिसकेका छन् ।
यस सम्बन्धमा २०६२ सालदेखि बिर्तामोडको कनकाई रोड नजिकै देवी माविको पूर्वपट्टि गजुरमुखी टोलस्थित देवीबहादुर लिम्बूको घरमा एक फ्ल्याट भाडामा लिएर उनका बुबा प्रेमचन्द, आमा विद्यादेवी र श्रीमती रञ्जिता मण्डल अग्रवालसहित उनका दुई छोरी बस्दै आएको घरबेटी लिम्बूको बुहारी सोही घरमा बस्ने रञ्जिता लिम्बूले जानकारी दिएकी छन् ।
अहिल उनको पसल बन्द रहेको अनि उनी बस्दै आएको घरमा परिवारका कोही पनि सदस्य नरहेकोले ठगी गरी फरारको आशङ्कामा पीडितहरूले उनको खोजी गर्न सम्बन्धित निकाय र सञ्चारमाध्यममा गुहार मागेका छन् । उनीविरुद्ध झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ठगी सम्बन्धी उजुरी दिने तयारी भइरहेकाे बताइएकाे छ ।