शहबाज खान
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको चर्चित साप्ताहिक बजार बहादुरगञ्जमा दिनहुँ जनताको चहलपहल बढ्दै गएको छ । अहिले बहादुरगञ्ज बजारमा मानिसको अत्याधिक चापले सवारी साधनको व्यवस्थापनमा समस्या भएको छ, जताततै सवारी साधन पार्किङ्गले सडक बजार साँघुरो भएकोले दुर्घटनाको सम्भावना बढ्ने देखिन्छ ।
बहादुरञ्ज बजारमा आउने जाने जनता तथा सवारी साधन राख्ने उचित व्यवस्थापन नभएको कारणले अस्तव्यस्त देखिएको छ । अव्यवस्थित पार्किङ्गले सड़क दुर्घटना हुने बजारको सौन्दर्यता नै कुरुप देखिएको स्थानीयले बताएका छन् । व्यवस्थित पार्किङ स्थल नहुँदा बहादुरगन्ज बजार अस्तब्यस्त र अशोभानीय भएको उनीहरुले बताए । सडकमै अटो–रिक्सा र बसको पार्किङ्गले जनतालाई आवतजावतमा समस्या भएको उनीहरुको गुनासो छ । सडकमै जथाभावी गाडी पार्किङ गर्दा चोकमा ट्राफिक जाम समेत हुने गरेको छ ।

हुलाकी सडक बनेपछि लामो सवारी साधनको आवतजावत बढेपछि चन्द्रौटा–कृष्णनगर सडक खण्ड र तौलिहवा रोडमा मोटरसाइकल, साइकल र अटो–रिक्सा अव्यवस्थित राख्नु र कृष्णनगर यातायात ब्यवसायीको बस मुख्य चोकमै सवारी झार्ने चढाउने कारणले दुर्घटना बढने सम्भावना देखिएको छ । छड्के चेकजाँच गर्ने ट्राफिक प्रहरीको पनि उक्त चोकलाई व्यवस्थित बनाउन खासै चासो देखाएको छैन । हुलाकी सडकको ढल अहिलेसम्म ब्यवस्थापन नहुनु तथा नगर प्रहरीको उचित जनशक्ति नहुँदा नगर प्रहरी अहिले कृष्णनगरमा मात्रै केन्द्रित रहेर काम गरेको देखिन्छ ।

साथै इलाका प्रहरी कार्यालय बहादुरगंज पनि बहादुरगञ्ज चोक व्यवस्थापनमा ध्यान नपुगेको सर्वसाधरणको गुनासो छ । बहादुरगञ्ज चोक व्यवस्थापनको लागि अहिलेसम्म जनप्रतिनिधिहरुको पनि ध्यान पुगेको छैन । चुनावको बेला त्यही चोकलाई मुख्य केन्द्र मानेर चुनावी कार्यक्रममा बहादुरगञ्ज चोकलाई प्रयोग गर्दै आएका छन् । तर व्यवस्थापनको लागि कुनै पहल देखिएको छैन । यो क्षेत्रका स्वास्थ्य सेवा केन्द्र, शिवराज अस्पताल जाने सेवाग्राही र राम गोरखा माध्यमिक विद्यालय जाने हजारौं विद्यार्थीहरुको आउजाउ गर्ने मुख्य बाटो भए तापनि नगरले खासै चाँसो नदिएको स्थानीयको भनाई छ ।