शनिबार, आश्विन १७ गते २०८३

भ्रष्टचार विरुद्ध थालिएका प्रयासले जनतामा आशा जगायोः प्रधानमन्त्री दाहाल

श्रावण १४, २०८० आइतबार
भ्रष्टचार विरुद्ध थालिएका प्रयासले जनतामा आशा जगायोः प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध  थालिएका  प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन् । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको स्पष्ट पारे । 

उनले भने, “पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा गरिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।” प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्ने आम जनसमुदायमा आभारसमेत प्रकट गरे । उनले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको स्पष्ट पारे । 

प्रधानमन्त्री प्रचण्डले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा मरहठ्ठाले पुर्याएको योगदानको प्रशंसा गरे । पुस्तकमा ‘माधव सर’को जीवनी, योगदान र प्रेरणालाई बहुआयाममा उल्लेख गरिएको छ । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ ।