दुई पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुबीच कमिसनको विषयमा विवाद बढेको छ । पुनर्बीमा कम्पनीले दिने कमिशन दरमा १४ प्रतिशतसम्म कटौती गर्ने प्रस्तावमा नेपाल बीमक संघले आपत्ति जनाएको हो ।
पुनर्बीमा सम्झौता अन्तर्गतको प्रत्यक्ष हिस्सावापतको कमिशन दरमा दुई पुनर्बीमा कम्पनीले १४ प्रतिशतसम्म कटौती गर्दै नयाँ कमिशन दर प्रस्ताव गरेपछि निर्जीवन बीमा कम्पनीहरु त्यसको विरोधमा उत्रिएका हुन् ।
नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले एकतर्फी रूपमा चालू आवको प्रत्यक्ष हिस्सावापतको पुनर्बीमा व्यवसाय अन्तर्गत निर्जीवन बीमकले प्राप्त गर्ने कमिशन दरमा २ देखि १४ प्रतिशतसम्म कटौती गर्ने जनाएका छन् ।
पुनर्बीमा कमिशन दरलाई संघले गत आर्थिक वर्ष २०७९/८० अनुरूप निरन्तरता दिएर साबिक बमोजिमकै सम्झौता नविकरण हुनुपर्ने माग गरेको छ । सात दिनभित्र पुरानै सम्झौता नविकरणको प्रस्ताव पेश नगरे प्रत्यक्ष हिस्सावापतको व्यवसाय अस्वीकार गरेको अर्थमा बुझिने भन्दै अन्यथा बीमकले आफै जोखिम व्यवस्थापन गर्ने चेतावनी संघको छ ।
संघले प्रत्यक्ष हिस्सा अन्तर्गत नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम उपलब्ध गराइएको व्यवसायको जोखिमको मात्रामा कुनै तात्विक वृद्धि नभएको अवस्थामा एक्कासी एकतर्फीरूपमा पुनर्बीमा सम्झौता नविकरणका लागी नयाँ र अत्यन्त न्यून कमिशन दर प्रस्ताव गर्नु करार ऐन विपरित कार्य भएको समेत उल्लेख गरेको छ।
चालू आर्थिक वर्ष २०८०।८१ का लागी प्रस्तावित पुनर्बीमा कमिशन दर प्रति निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था नेपाल बीमक संघले आपत्ती जनाउँदै संशोधित प्रस्ताव फिर्ता नलिएर प्रत्यक्ष हिस्सावापतको जोखिमको व्यवस्थापन आफैंले स्वीकार्ने चेतावनी दिएका छन् ।
गत आवमा प्रत्यक्ष हिस्सा अन्तर्गत सूचीकृत जोखिम समूहको कूल व्यवसायको ८(८ प्रतिशत हिस्सा स्वदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका निर्जीवन बीमकले पुनर्बीमा निर्देशिका बमोजिम चालू आवमा प्रत्यक्ष हिस्सा अन्तर्गत १०(१० प्रतिशत व्यवसाय अनिवार्यरुपमा ‘दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने बाध्यता छ।
नेपालपत्र संवाददाता