आरम्भ
नेपालमा कम्युनिष्ट आन्दोलनको बिकासको निमित्त पृष्ठभूमि निर्माण गर्ने र कम्युनिष्ट आन्दोलनको आरम्भ, बिकास र बिस्तार गर्ने कार्यमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवं मार्गदर्शक कमरेड पुष्पलालको अग्रणी र सर्बेच्च स्थान रहेको छ । कम्युनिष्ट आन्दोलनमा उहाका सर्वाधिक महत्वपूर्ण योगदानहरु रहेका छन् । वास्तवमा नेपालमा कम्युनिष्ट पार्टीको गर्भाधान, जन्म, बिकास र समृद्धिका निमित्त क. पुष्पलालका अत्यन्तै महत्वपूर्ण र मौलिक अवधारणाहरु छन् । ती अबधारणाहरु नेपाली समाजलाई आमूल र अग्रगामी सामाजिक परिवर्तनको दिशाबोध गराउने बिश्वको क्रान्तिकारी दर्शन,बिचार सिद्धान्त अर्थात मार्क्सवाद-लेनिनवाद तथा माओ बिचारधारामा आधारित नेपालको बिशिष्ठ भौतिक परिस्थिति अनुरुपका अवधारणाहरु हुन् र नेपालको कम्युनिष्ट आन्दोलनको बिकास र समृद्धि तथा आमूल अग्रगामी परिवर्तनका निमित्त अपरिहार्य पनि । त्यसैले देशमा राजतन्त्र लगायत सामन्तबादलाई समूल नष्ट गर्ने र गणतन्त्र अनि जन गणतन्त्रको उद्घोष गर्ने तथा सर्वप्रथम संबिधान सभाको बिषयलाई संस्थागत किसिमले जोडदार रुपमा उठाउने र त्यसको लागि संघर्षको आरम्भ गर्ने जुन कदमहरु नेपाल कम्युनिष्ट पार्टीको तर्फवाट क. पुष्पलालले अघि सार्नु भयो तिनका बारेमा आजको नेपालको परिवर्तित राजनीतिक सन्दर्भ र परिप्रेक्षमा सही किसिमले चर्चा परिचर्चा गर्नु र तिनको आवश्यकता र सान्दर्भिकता औल्याउनु तथा प्रष्ट पार्नु नेपालको जन आन्दोलन र खाशगरी कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिनका निम्ति आवश्यक, समयोचित एवं उपयोगी हुने कुरा निश्चित छ ।
क. पुष्पललाका ती ऐतिहासिक महत्वका आधारभूत अबधारणाहरुमा पनि खाशगरी नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम र त्यसलाई प्राप्त गर्ने नेपाली जन आन्दोलनको दिशाको निर्धारण तथा त्यसका लागि संयुक्त जन आन्दोलन, बामपन्थी एकता र संयुक्त मोर्चाको सवाल, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको प्रश्न, समकालीन विश्व परिस्थितिमा पूँजीवादी बर्गको चरित्र र भूमिका तथा सर्बहारा अन्तर्राष्ट्रबादी निष्ठा जस्ता सर्बाधिक महत्वपूर्ण कुराहरुलाई सबैभन्दा प्रखररुपमा औल्याउन सकिन्छ । तीन ‘स’ अर्थात् ‘संसंसि’ संघर्ष, संगठन र सिद्धान्तका त्रि-आयामिक एबं परिपुरक पक्षहरुलाई समायोजन गर्दै कम्युनिष्ट आन्दोलन अघि बढाउने क्रममा उहाले वास्तवमा यी महत्वपूर्ण अबधारणाहरुलाई आफ्नो जीवनपर्यन्त निरन्तर संरक्षण तथा सम्वर्द्धन गर्दै आउनु भएको थियो । बस्तुतः उहाँका यी अबधारणाहरुले नेपालको जनवादी तथा कम्युनिष्ट आन्दोलनको अधिकतर महत्वपूर्ण अंगलाई निरन्तर प्रभावित तुल्याउँदै आएका हुन् र तुल्याउँदै आइरहेका छन् । ती अबधारणाहरु नेपाली जन आन्दोलनको क्रममा पटक पटक परिपुष्टी र प्रमाणित हुदै आएका छन् । आज नेपालका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले उहाँका ती मौलिक एवं सिर्जनात्मक अबधारणाहरुलाई दृढतापूर्वक रक्षा गर्दै र गहनरुपमा पक्रदै तिनलाई अझ सम्बृद्ध तुल्याउन पर्ने आवश्यकता झन बढ्न गएको छ । किनभने बिश्व कम्युनिष्ट आन्दोलन र त्यसको एउटा अंग नेपालको कम्युनिष्ट आन्दोलनमा आज गम्भीर प्रकृतिका सैद्धान्तिक बिचलन, ब्यवहारिक बिकृति र बिसंगतिहरु आएका र छाएका छन् । दक्षिणपन्थी तथा उग्रपन्थी जडसुत्रबादी औसरवादले अड्डा जमाएको छ । त्यसैले त्यस्ता असंगतिहरुबाट मुक्त हुन र आन्दोलनलाई सही दिशामा अघि बढाउन क. पुष्पलालका बिचारहरुको सान्दर्भिकता र आवश्यकता आज अझ बढ्न गएको कुरा एकदमै प्रष्ट छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम :
नेपाल कम्युनिष्ट पार्टी बिधिवत स्थापना गर्ने तयारीसँगसँगै नेपाली क्रान्तिको मूलबाटो र यसको चरित्रको बारेमा क. पुष्पलालले बिचार निर्माण गर्न थाल्नु भएको देखिन्छ । त्यसक्रममा नेपालमा कम्युनिष्ट आन्दोलनको आवश्यकता र त्यसको लागि कम्युनिष्ट पार्टीको गठन गर्नुपर्ने औचित्य दर्शाउँदै २००६ साल बैशाख १२ गते क. पुष्पलालकै पहलकदमी र अग्रसरतमा गठित पाँच सदस्यीय कम्युनिष्ट पार्टी संस्थापन समितिको तर्फबाट उहाँकै हस्ताक्षरमा लिथो गरी प्रकाशित पर्चामा समेत कार्यक्रमको सामान्य रुपमा उल्लेख गर्दै 'नयाँ जनवाद' को पर्यायवाची शब्द 'नब प्रजातन्त्र' र अग्रेजीमा भने 'New Democracy' नै प्रष्टरुपमा अंकित गरेको छ । यसबाट पार्टी स्थापनाको बेला देखिनै नेपाली समाजको आमूल अग्रगामी परिवर्तनको लागि कस्तो कार्यक्रमको आवश्यकता रहेको छ भन्ने कुरामा उहाँ सचेत रहेको र त्यसको दिशाबोध गरेको देखिन्छ । त्यसलाई सिंगो कम्युनिष्ट पार्टीका उच्च निकायहरुले छलफल गरी अनुमोदन गरेको थियो - नेपाली क्रान्तिको कार्यक्रम 'नयाँ जनवादी कार्यक्रम' र पार्टी स्थापना दिवस १५ सेप्टेम्बर हो भनेर – २००८ सालमा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले । तर कम्युनिष्ट आन्दोलन अघि बढ्दै जाँदा कार्यक्रममा परिवर्तन किन भन्ने बिचलनकारी कुरा नेतृत्व पंक्तिमा पुगेकै ब्यक्तिहरूबाटै उठाउन थालियो र २०१९ सालको तेश्रो महाधिवेशनसम्म पुग्दा त कार्यक्रमका बारेमा नै खुलेर बिवाद शुरु भयो ।
'नयाँ जनवाद' कि 'राष्ट्रिय प्रजातन्त्र' भन्ने दुइ कार्यक्रमको कुरा उठ्दा क. पुष्पलालले 'नयाँ जनवाद'को दृढतापूर्वक वकालत गर्नु भएको थियो । यद्यपि पार्टीलाई अबिभाजित राख्नका लागि आफ्नो यो मतलाई सुरक्षित राख्दै र उचित पार्टी फोरममा आवश्यक छलफल चलाउने निर्णयकासाथ क. टीएल(तुलसीलाल)ले प्रस्तुत गर्नु भएको बहुमतद्वारा पारित 'राष्ट्रिय प्रजातन्त्र'को कार्यक्रमलाई बहुमतको निर्णयको रुपमा स्वीकार गर्नु भएको थियो । तर ०१९ सालपछि नेकपा एकीकृत मात्रै नरहेको होइन, सैध्दान्तिक र संगठनात्करूपले समेत बिसर्जनको स्थितिमा पुगेपछि पुनः क. पुष्पलालको पहलकदमी र नेतृत्वमा २०२५ सालमा तेश्रो ऐतिहासिक सम्मेलन(गोरखपुर सम्मेलन) गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको आवश्यकता औंल्याउँदै २००६ साल बैशाख १२ गते प्रकाशित पहिलो पर्चा, १५ सेप्टेम्बर १९४९ मा प्रकाशित पार्टीको घोषणापत्र र पार्टी सिंगोरुपमा एकीकृत रहेको बेलाका दस्ताबेजहरुका सकारात्मक निर्णयहरुलाई आत्मसात गरेर उहाँले प्रष्ट र साँङ्गोपाङ्गोरूपमा नयाँ जनवादी कार्यक्रमलाई पुनर्स्थापित गर्दै त्यसलाई समृद्ध तुल्याउनु भयो ।
पार्टी गठन भएपछिको १८ बर्षको क्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा आएका बिभिन्न उतार चढावहरुको सिंहावलोकन गर्दै पार्टी गठन हुँदा नेपाली समाज जुन सामन्ती, अर्धसामन्ती तथा अर्ध औपनिबेशिक तथा बर्तमान परिप्रेक्षमा नब उपनिबेशिक दासताको अवस्थाबाट गुज्रिरहेको छ त्यसमा कुनै आधारभूत परिवर्तन आउन नसकेको यथार्थ मूल्यांकन गर्दै र स्वीकार गर्दै नयाँजनवादी क्रान्तिको सफलता बिना यो अवस्थामा कुनै गुणात्मक परिवर्तन आउन नसक्ने कुरा थप प्रष्टसँग औल्याउँदै नयाँ जनवादी कार्यक्रमको अझ प्रष्ट ब्याख्या गरियो । त्यसले मार्क्सवादी-लेनिनवादी बर्गीय दृष्टिकोणको आधारमा सामन्तबाद तथा साम्राज्यवाद बिरोधी क्रान्तिलाई सफल तुल्याएर समाजवादमा जाने पृष्ठभूमि तयार गर्न मजदुर बर्गको नेतृत्वको आवश्यकता र औचित्यका सम्वन्धमा प्रष्ट पार्ये । त्यसले नेपाली क्रान्तिको सिद्धान्त र कार्यक्रमकासाथ नेपाली समाजको अग्रगामी आमूल राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक परिवर्तनका निमित्त चाल्नुपर्ने कदम र अपनाउनुपर्ने नीति तथा उपायहरु प्रस्तुत गरेको छ । त्यो नै आजको नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम तथा मूलबाटो रहेको छ र नयाँ जनवादी क्रान्ति सफल भएर समाजबादमा संक्रमण गर्ने स्थिति तयार नुहँदासम्म त्यो कार्यक्रम नै नेपाली क्रान्तिको कार्यक्रम रहनेछ । बर्तमान बस्तुस्थितिले पनि यस यथार्थको उद्बोधन गराइरहेको छ । त्यसैले यसलाई हामी 'मार्क्सबादको नेपालीकरण' (Napalisation of Marxism) भनेर पनि औंल्याउँन सक्छौं र औंल्याइनु पर्दछ ।