शुक्रबार, कार्तिक ७ गते २०८३

इतिहासमा नीजि सम्पत्ति र एकनिष्ठ विवाह वा विवाह पद्धति!

श्रावण ४, २०८० बिहीबार
इतिहासमा नीजि सम्पत्ति र एकनिष्ठ विवाह वा विवाह पद्धति!
shuva prava 1200.jpg
सरस्वती माेहाेरा
 
आदिम समाजमा पनि सम्पत्ति थियो त्यो तर त्यतिबेलाको आदिम समाज गोत्र र पछि कबिलाको अधीनमा सबैको साझा वा सामूहिक सम्पत्ति हुन्थ्यो। त्यसो हुँदा सम्पत्तिको आधारमा कसैमाथि शोषण सम्भव हुँदैनथ्यो।
 
त्यस्तो साझा वा सामुहिक सम्पत्तिमाथि आधारित समाजको मुख्य व्यवस्थापन स्त्रीले गर्ने हुँदा त्यो मातृसत्तात्मक समाज थियो।
परिवारको ढाँचा त्यही अनुरुपको हुनुले परिवारभित्र स्त्रीको भुमिका र स्थान सम्माननीय हुन्थे।पछि तर उत्पादनको बिकासको क्रममा अत्यधिक विकासको फलस्वरूप अतिरिक्त उत्पादन माथि केही व्यक्तिहरूको नीजि हस्तक्षेप र स्वामित्वले नीजि सम्पत्तिको उदय भएको र वर्गको उदय त्यही आधारमा भएको बुझिन्छ।
 
सामुहिक सम्पत्तिको यसप्रकार नीजि सम्पत्तिमा रूपान्तरण हुनुमा यौटा विशेष परिस्थिति देखिन्छ। नीजि स्वामित्वको मालिकना पुरूषद्वारा हुनु र त्यसमा पनि फेरि केही पुरूष (विशेषाधिकार सम्पन्न पुरुषहरू)बाट हुनुमा पनि बिशेष कारण र परिस्थिति देखिन्छ।
 
त्यसो हुनुमा हिजको सरल कन्दमूल,फलफूल जुगाड गर्ने उत्पादन प्रणालीको सट्टा पशुपालनको नँया उत्पादन विधि र प्रणालीको बिकास त्यसको प्रमुख कारणमा देखिन्छ। त्यस्तो खाले उत्पादन प्रणाली र पद्धतिले नँया उत्पादन सम्बन्धको बिकास भएको देखिन्छ।
 
त्यस्तो खाले उत्पादन प्रणालीभित्र पुरूषको भुमिका मुख्य हुनुले परिवारभित्र अब स्त्रीको भुमिकालाई पुरूषको बर्चस्वद्वारा विस्थापित गरिने क्रमको शुरूवात हुँदछ। यसरी मुख्य उत्पादन पद्धति र प्रणालीमा मुख्य बद्लावका साथ त्यसमा मुख्य भुमिका पुरुषहरूको हुनुले हिजको मातृसत्ता पुरूषसत्तामा बद्लिनु सम्भव हुँदछ।
 
तथापि त्यसमा तर सबै पुरूष नभएर हिजको गोत्रदेखि कबिलाई समाजले अघि बढदा कबिलाई समाजमा हिजोदेखि प्रतिष्ठित र विशेष ओहोदामा बसेका पुरोहित, मुखिया,सेना नायक पुरूषहरूको बर्चस्व देखिन्छ।अत: ती विशेष अधिकार सम्पन्न पुरुषहरूको वर्ग नै सामुहिक सम्पत्तिमाथि नीजि मालिकना हक वा बर्चस्व जमाउने वर्गका रूपमा देखिन आउँदछ।
 
सो यिनै वर्गको सम्पत्ति माथिको नीजि स्वामित्वलाई नीजि सम्पत्तिको रुपमा कायम गराउन हिजको सामुहिक उत्पादन सम्बन्ध/प्रणालीको फलस्वरूप सामुहिक सम्पत्तिमाथि आधारित मातृसतात्मक व्यवस्थालाई बिस्थापित गरेर नीजि सम्पत्ति आधारित उत्पादन सम्बन्ध र व्यावस्थामा आधारित पितृसत्तात्मक व्यवस्थालाई कायम गरिन्छ। यिनै व्यवस्थालाई पुस्तौ दर पुस्तौ र सन्तान दर सन्तान परिवारभित्र पनि कायम गराउन एकनिष्ठ विवाहको सामाजिक पद्धती एवं प्रणाली परिवारभित्रैबाट शुरूवात गरिन्छ।
 
नीजिसम्पत्ति आधारित पितृसत्तात्मक व्यवस्था अन्तर्गत पारिवारिक ढाँचाको मुलमा सम्पत्तिको मुलअधिकार पुरूषलाई मात्र वंशानुगत रूपमा हस्तान्तरणको व्यावस्था गरिनुले त्यस्तो पारिवारिक र सामाजिक व्यवस्थामा पुरूष ले अधिकार सम्पन्न हुनु स्वाभाविक हुन्थ्यो भने सम्पत्ति नहुने, सम्पत्ति बिहिन महिलाहरूको आवस्था चाहिँ अधिकार बिहिन दासी सरह एकनिष्ठ कर्तव्यहरू मात्रै पालन गरिनुपर्ने हुन्थ्यो।
 
सो यस्तो परिस्थितिमा नीजिसम्पत्ति आधारित पितृसत्तात्मक व्यवस्थामा 'एकनिष्ठ बिवाह"एकमात्र स्त्रीहरूको लागिमात्रै पुरूषप्रतिको निष्ठाजन्य एकनिष्ठता भएको र पुरुष भने स्त्रीप्रतिको एकनिष्ठ बिवाहको बन्धन र कर्तव्यबाट उन्मुक्त रहेको बुझिन्छ।
 
यसो हुँदा 'नीजि सम्पत्ति र त्यसैमा आधारित एकनिष्ठ विवाह पद्धतिलाई " ऐतिहासिक दृष्टिले एकाअर्कासित अन्तर्सम्बन्धित,पुरक रूपमा बुझ्नु आवश्यक हुँदछ।
 
ऐतिहासिक दृष्टिले यसलाई नीजि सम्पत्ति बिहिन,पराधिन स्त्रीहरूमाथि सम्पतिमा हैकम् र अधिकार हुने पुरूषहरूद्वारा स्त्रीहरू उपर थोपरिएको पुरुषप्रतिको जबरजस्ती एकनिष्ठ कर्तव्यपरायणता भन्ने रूपमा 'एकनिष्ठ विवाह पद्धति" लाई बुझिन्छ अथवा इतिहासमा यसको आवश्यकतालाई बुझ्नसकिन्छ।

  • सम्बन्धित विषय:

  • # सरस्वति माेहाेरा