शनिबार, आश्विन १७ गते २०८३

बुढिगण्डकी आयोजना समयमै निर्माण हुन्छ: प्रधानमन्त्री

श्रावण ३, २०८० बुधबार
बुढिगण्डकी आयोजना समयमै निर्माण हुन्छ: प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  बुढिगण्डकी जलविद्युत आयोजना समयमा निर्माण हुने जनाएका छन् । धादिङ र गोरखाको सीमामा रहेको गण्डकी गाउँपालिका –८ को सिउरेनीटारमा बुढिगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्ने क्रममा आयोजनाको काम तीब्र रुपमा अगाडि बढ्ने उनले जनाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यले थप गति लिने भन्दै केही समय अघिसम्म बुढीगण्डकी बन्ला नबन्ला भन्नेमा आफू पनि सशंकित रहेको भएपनि सम्बन्धित क्षेत्रका विज्ञ, सम्बन्धित मन्त्रालयसँगको छलफलपछि आफू विश्वस्त भएको जनाए ।

जलाशययुक्त जलविद्युत आयोजना सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको आयोजना देशको मध्यभागमा भएकाले यसले देशको आर्थिक गतिविधि बढाउने उनले जनाए । 

“सम्बन्धित सबैसँग सहकार्य गरी बुढीगण्डकी आयोजना निर्माण गर्ने संकल्प लिएर आएका छौं”, प्रम दाहालले भने, “यो आयोजनाले हिउँद र बर्खामा हुने विद्युत संकटको अन्त्य गर्नेछ । सरकारको ध्यान देशभित्र विद्युत खपत गराउने र देशको अर्थतन्त्रलाई मजबुत बनाउनेतिर छ ।’ 

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय बनाएर लैजानुपर्ने उल्लेख गरे । ‘विजुली, पानी, उद्योग, पर्यटनको विकाससँगै आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अघि बढाउनुपर्छ’ भट्टराईले भने, ‘यो आयोजनालाई जलाशययुक्त आयोजना र बिजुली निकाल्ने आयोजनाको रुपमा मात्रै नहेरी प्राधिकरण बनाएर अघि बढ्नुपर्छ ।’

 

यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत् गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्।

सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । घर गोठ,बोटबिरुवातर्फ छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।