काठमाण्डौ । एक बक्तब्य प्रकाशित गर्दै राष्ट्रिय क्रान्तिकारी मोर्चाले मिटर ब्याज पीडित किसन मजदरको पक्षमा ऐक्यबद्धता जाहेर गरेको छ । मोर्चाका अध्यक्ष नारायण शर्माले हिजो एक बक्तब्य प्रकाशित गर्दै हाले संसदबाट पारित मिटर ब्याज सम्बन्धि बिधेयक कतिपय सन्दभर्ममा पीडितको पक्षमा नरहेको र पीडक साहुहरुको संरक्षणको पक्षमा रहेको बताउँदै यसले पीडितहरुको आक्रोश बढाएको उल्लेख गरेको छ । बक्तब्य यस प्रकार रहेको छ :
लामो समयदेखि जीवन–मरणको संघर्षमा उत्रेका मिटरब्याज पीडित किसान–मजदुरहरुको आन्दोलनलाई सरकारले आयोग र कानुन बनाई हल गर्ने प्रतिबद्धता गरेको थियो । आयोग बनेपनि कानुनको अभावमा काम गर्न नसकिएको भन्दै आयोगले कतिपय काम त उल्टै पीडकको पक्षमै गरेका समाचारहरु पनि सार्वजनिक भए ! तिनको यथोचित विरोध र भण्डाफोर पनि मिटरब्याज पीडितहरुद्वारा र न्यायप्रेमी शक्ति, संघसंस्था, समूह र व्यक्ति विशेषहरुबाट सडक, सदन, समाजिक संजाल र मिडियाहरुबाट पनि हुँदै आए । अहिले कानुन बनेको भएपनि यो कानुन त झन् कतिपय अर्थ, सन्दर्भ र विषयमा पीडित–मैत्री नभएर उल्टै पीडक मैत्री भएको कुरा मिडिया र सामाजिक संजालहरुमा आएका छन् ! सरकार र राज्यसत्ताको समग्र चिन्तन र चरित्र नवउदारवादी दलाल, माफिया, कमिसनखोर र सूदखोरमुखी भएको र उनीहरुको प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध, सहकार्य, सहानुभूति र संरक्षण तिनै मिटरब्याजे साहूहरुप्रति भएको कुरा स्पष्ट हेर्दा र भोग्दा यो कुरा सही प्रतीत हुन्छ । त्यसैले मिटरब्याज पीडितहरु आन्दोलित र आक्रोशित भैरहेको अवस्था छ । यो अवस्थामा समस्याको तात्कालिक समाधानको लागि सरकारद्वारा हालै कम्तीमा मिटरब्याजे पीडकले किसान, मजदुरलगायतका गरीब–दुखी मानिसहरुबाट कीर्ते कागज बनाई सावाभन्दा बढी असुलेको रकम र हडपेको घरजग्गा हर्जानासहित तुरुन्त फिर्ता गर्ने कडा कानुनी प्रावधान राखिएको ऐन ल्याइनुपर्छ र पीडकबाट असुल–उपर गराई पीडितहरुलाई उपलब्ध गराइनु जरुरी छ भन्ने हाम्रो दमदार मत र जोडदार माग रहेको छ ।
यसो नगरिएको स्थितिमा मिटरब्याज पीडितहरुले आफ्नो आन्दोलनलाई अझ सशक्त, बहुआयामिक , प्रभावकारी र परिणाममुखी बनाउनु स्वाभाविक मात्र होइन अत्यावश्यक छ । यससन्दर्भमा मिटरब्याज पीडितहरुले भोलि साउन २ गते २ बजे काठमाडौंको शान्तिबाटिकाबाट जुलुस लिई सूदखोर र दलालहरुको संरक्षण र संचालनको केन्द्रको रुपमा रहेको वर्तमान दलाल संसद बनेको नयाँ बानेश्वर स्थित संसदभवन घेराउ गर्न गैरहेका छन् ! हाम्रो राष्ट्रिय क्रान्तिकारी मोर्चा यसप्रकारको न्यायपूर्ण आन्दोलनको समर्थन गर्दछ र सफलताको कामना पनि गर्दछ । साथै हाम्रो मोर्चाको घटक–सदस्य बन्दैगरेको “मिटरब्याजपीडित किसान–मजदुर संयुक्त संघर्ष समिति“सँग सुदृढ सहकार्य गर्न हाम्रो “राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल “ साथै रहेको कुरा पनि सम्बन्धित सबै घटक–सदस्य र आम न्याय–समानताका पक्षधर शक्ति, संघसंस्था, संगठन, समूह, संचारजगत र जनसमुदायहरु समक्ष स्पष्ट गर्न चाहन्छौं ।