नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन रिटेल प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध उत्पादन प्रवरधन सम्बन्धी समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको अभियान हो ।
स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान संचालन गरिरहेको छ । सिएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने, कामदारहरूको सीप अभिबृद्धि गर्ने जस्ता काम गर्दै आएको छ ।
स्वदेशी सदस्यहरुको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको हो । यस समझदारी अनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरुले आफ्ना वस्तुहरु यस सेक्सनमा राख्न पाउनेछन् । साथै दराजले स्वदेशीको प्रबद्र्धन गर्ने अन्य उपाय तथा सुविधाहरु दिनेछ ।
यो समझदारी अनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको वस्तु दराजको प्लाटर्फममा राख्न तथा खरिद विक्री गर्न दराजले स्वदेशी सदस्यहरुलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउनेछ । मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुलाई बजारिकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । स्वदेशी अभियानको उद्देश्य प्राप्तिका लागि नीतिगत वकालतसँगै अन्य थप प्रबद्र्धनात्मक कार्यलाई अगाडि बढाइने उनले बताए ।
स्वदेशी वस्तुहरुलाई प्रोत्साहन, प्रवर्धन गर्न स्वदेशी सदस्यहरुको वस्तुहरुलाई आफ्नो अनलाइन प्लाटफर्म उपलब्ध गराइएको दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले बताए ।
समझदारीमा परिसंघका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका हुन् ।