बुधबार, भाद्र ३ गते २०८३

अमेरिकामा मकै लगाउने र मलजल गर्ने बैज्ञानिक तरीका

आषाढ २५, २०८० सोमबार
अमेरिकामा मकै लगाउने र मलजल गर्ने बैज्ञानिक तरीका

 

ज्याेतिलाल बन 

संयुक्त राज्य अमेरिका मकै उत्पादन र यसको निर्यातमा संसारमा सवैभन्दा अग्र पंक्तिमा रहेको छ । त्यसै गरी गहुँ र भटमास उत्पादनमा पनि यो देश अब्बल तहमै रहको पाइन्छ । 

मैले ८ जुलाई २०२३ (२४ असार २०८०) का दिन मेरिलैण्ड राज्यस्थित Bridgeville, Federalsburg  र Denton मा यी तीनै खेतीको केही अवलोकन गर्ने अवसर पाएँ । यी तीन मध्येमा पनि विशेष गरी मकै खेतीका बारेमा पाउन सकेको थोरै जानकारी प्रस्तुत गरेको छु । 

यहाँ मकै रोप्नुभन्दा लगभग १ महिना पहिले नै जग्गालाई खनजोत गरिदो रहेछ । माटोको अम्लियताको अनुपातमा रोप्नुभन्दा केही दिन पहिले सर्वप्रथम कृषि चुन र फसफोरस, पर्याप्त कम्पोष्टमल तथा सिरुजस्तो घाँसलाई मसिनो टुक्रा बनाएर छरी छाडिदो रहेछ । मकै रोप्नुभन्दा १।२ दिन पहिले नाइट्रोजन र पोटास लगभग बराबरी परिमाणमा छरेर माटो फुर्फ¥याउदो गरी धुल्याएपछि मेसिनबाट लाइन मिलाएर मकै रोपिदो रहेछ ।

मकै ३.jpg मैले मकैको बोटदेखि बोटको दुरी नाप्दा लगभग १० सेन्टिमिटर र लाइनदेखी लाईन नाप्दा लगभग ६० सेन्टिमिटर रहेको पाएँ । मकैको बोटको ओरीपरि मल्चिङ गरेजस्तै बाक्लै सिरुजस्ता सुकेका घाँसका टुक्राहरु पनि भेटेको थिएँ । 

मकै रोपेको २०।२५ दिनपछि नाइट्रोजन (यूरिया) टपड्रेस गरेर बीचको लाइनमा क्यानल बनाई पुरै भिज्ने गरी सिचाई गरिदो रहेछ । रोग र किरा नियन्त्रणका लागि मकै रोपेको समयदेखि पाक्ने बेलासम्म सरदर ४।५ पटकसम्म किटनासक र रोग नासक औषधीहरु छरिदो रहेछ । बढि सुख्खा हुदा जमिन डुब्ने गरि नै सिचाई गर्ने र अन्य समयमा स्प्रिङ्कलर (फोटामा देखिएको पाइपलाइन) बाट सिचाई गरिदो रहेछ । 

मकै २.jpg

यहाँ मकै पाक्न सरदर १२० दिन लाग्ने जानकारी पाइयो । बिउँ हाइब्रिड मात्र प्रयोग गरिदो रहेछ । प्रायः सबै बोटमा २।२ घोगा फल्ने तर घोगाको आकार ठूलो हुने भएकाले मकैको उत्पादन प्रति हेक्टर १४ मे.टन (१४००० केजी) सम्म हुने जानकारी पाइयो । 

सिंचाइपाइपलाइन.jpg

हाल : भर्जिनिया, अमेरिका