आर्थिक बर्ष सकिन केही दिन बाँकी रहेकाले अर्थ मन्त्रालयले असारे भुक्तानी सुरु गरेको छ। मन्त्रालयले बिल पेशको आधारमा धमाधम भुक्तानी दिन सुरु गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार हिजो असार १७ गते मात्रै १९ अर्ब रुपैंया भुक्तानी गएको छ। असार महिनाको १८ दिनमा ५७ अर्ब भुक्तानी भइसकेको पाइएको छ। हरेक बर्ष असार मसान्तमा आएर भुक्तानी हुने प्रथाले यो वर्षमा पनि निरन्तरता पाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० मा विनियोजन ऐनले समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिइ निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। अन्तिम हप्ता सुरुभएसँगै भुक्तानीकाे दबाव सुरु भएको छ ।
नियमावली अनुसार महालेखाले असार २४ गतेपछि खाता बन्द हुने सूचना समेत जारी गरिसकेको छ। यसकारण हाल बिल पेश गर्न कर्मचारीहरुलाई भ्याइनभ्याई भएको छ । महालेखाको ६० औं प्रतिवेदनमा अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार यो वर्ष १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख विनियोजन भई १३ खर्ब ९ अर्ब ८७ करोड ४३ लाख खर्च भएकोमा आषाढ महिनामा २ खर्ब ७५ अर्ब ९ करोड २५ लाख अर्थात् २१ प्रतिशत खर्च भएको छ।