नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले गभर्नर अधिकारीसँग छलफल गरेको हो ।
छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउदै हाल तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको उल्लेख गरे। उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए । लक्षित आर्थिक बृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले बृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमुलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाई छ ।
स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि उनले औल्याए ।सो अवसरमा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको र आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए । मुल्यबृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाब तर्फ सजक भइरहनुपर्ने उनले उल्लेख गरे ।