काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित विवादित ललिता निवास परिसर कम्पाउण्ड तारबार गर्ने भएको छ । महानगरपालिकाले त्यस परिसर भित्र रहेकाका सबै अस्थायी संरचना हटाउन ७ दिने अल्टिमेटम समेत दिएको छ । महानगरले एक सूचना जारी गर्दै ललिता निवास परिसरभित्र बनेका अस्थायी संरचना हटाउन सात दिनको समय आज दिएको हो । बहुचर्चित ललिता निवास
विवादित जग्गा निरीक्षण तथा तारबार गर्न महानगरपालिकाको एक टोली आज ललिता निवास परिसरमा पुगेको थियो । ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको पाइएको छ । महानगर प्रहरीले ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेका सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।
ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । त्यसैगरी उक्त क्षेत्रकाेे जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ । जग्गा हिनामिना काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष सीआइबीको छ ।