काठमाडौँ महानगरभित्र सञ्चालित निजी विद्यालयले शिक्षकलाइ सामुदायिक विद्यालयसरहकै तलब सुविधा दिनुपर्ने भएको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निजी विद्यालयले यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई उनले अनुरोध गरेका छन् । महानगरमा सञ्चालित संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको उनले जनाएका छन् ।
‘शिक्षा ऐन, २०२८ को दफा १२ ९७० ९छ० मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ”, उनले उल्लेख गरेका छन् ।
साथै सरकारी विद्यालयमा हाल कार्यरत शिक्षकशिक्षकहरूले पाइराखेको तलब सुविधा समेत उनले चार्टसहित खुलाएका छन् ।