संयुक्त ट्रेड यूनियन संघर्ष समितिको बैठकले सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐनको सम्बन्धमा आफ्नो ध्यानाकृष्ट भएको जनाएको छ । समाजवादउन्मुख भनिएको व्यवस्थामा जसप्रकारको सामाजिक सुरक्षा र श्रम ऐन हुनुपर्ने हो त्यो नभएर दलाल पूँजीपति वर्गको हित रक्षा गर्ने खालको ऐनहरु भएको भन्दै त्यसको खारेजी हुनुपर्ने माग समितिको आज बसेको बैठकले गरेको छ ।
सत्तापक्ष र प्रतिपक्ष दुवै रहेको र पूँजीपति वर्गकै सहयोगी रहँदै आएको अवैधानिक जेडयूसिसिको सक्रियतामा निर्मित पूँजीपति वर्गको हितरक्षा हुने ऐनहरु बनाइएकोमा उनीहरु नै आज यसलाई संशोधन गर्नुपर्छ भनिरहेका छन् र पूँजीपतिकै हितमा संशोधन गर्ने तयारीमा रहेका छन् ।
सोही सन्दर्भमा ऐन संशोधन हुँदा कमसेकम श्रमजीवी मजदुर पक्षमा हुनपर्ने विषयवस्तु तयार गर्न संयुक्त ट्रेड यूनियन संघर्ष समितिले ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा ईश्वर तिमल्सिना, राजन तिमल्सिना र लालध्वज नेम्वाङ रहेका छन् ।
त्यसैगरी संयुक्त ट्रेड यूनियन संघर्ष समितिको संरचना निर्माण गर्ने सन्दर्भमा ईश्वर तिमल्सिना प्रमुख रहेको र ९ वटै संगठनका प्रमुख सदस्य रहेको संरचना मस्यौदा समिति बैठकले बनाएको अखिल नेपाल ट्ेरड यूनियनका ईञ्चार्ज कृष्णहरि भट्टले जानकारी दिए ।
क्रान्तिकारी ट्रेड यूनियन महासंघको केन्द्रीय कार्यालय, कोटेश्वरमा महासंघका अध्यक्ष राजन तिमल्सिनाको अध्यक्षता बसेको बैठकमा अखिल नेपाल ट्रेड यूनियनका ईञ्चार्ज कृष्णहरि भट्ट र सचिवालय सदस्य राजकुमार थापा, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष ईश्वर तिमल्सिना, समाजवादी ट्रेड यूनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक विनोद थापा, प्रगतिशील नेपाल स्वतन्त्र ट्ेड यूनियन(पिकोन्ट) का अध्यक्ष केदार गिरी, अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष लोकराज भुषाल, वैज्ञानिक समाजवादी ट्रेड यूनियनका संयोजक डिबी सर्वश्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।